काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुँदै छ।
यसअतिरिक्त दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमा सदस्यहरूले धारणा राख्नेछन् । तर, आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्ष ओली समूहले अल्पमतमै परे पनि प्रतिवेदनमार्फत राखेको अडानबाट पछि नहट्ने तयारी गरेको छ ।
आफूविरूद्ध लागेको लाञ्छनामा दाहालले माफी मागेर साझा प्रस्ताव ल्याउनु पर्ने अडानसहित ओली समूह प्रस्तुत हुँदैछ ।
कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्य रहेको दाहाल-नेपाल समूहले ओलीको कार्यशैलीका कारण पटकपटक समस्या आएको भन्दै बहुमतबाट निर्णय गरेर अघि बढ्ने रणनीति बनाएको छ । यसका लागि सो समूहको नेताहरूले माधव नेपालको निवास कोटेश्वरमा सोमबार बिहान छलफल गरेका थिए ।
उक्त छलफलले दुई अध्यक्षका अहिलेका अलगअलग प्रस्तावलाई साझा बनाउने गरीको पहल गर्ने तर सहमति नबने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लगेर निर्णय गराउने तयारी भएको छ ।
त्यसअघि गत शनिबार बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गरेपछि नेकपामा दुई वटा प्रस्तावले औपचारिकता पाएका छन्।
त्यसअघि कात्तिक २८ को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए।
अध्यक्षद्वयबीच मतभेद बढेपछि बैठक माग गर्दै पाँच सचिवालय सदस्यले कात्तिक २५ गते ओलीलाई पत्र लेखेपछि नेकपाभित्र ‘पत्र युद्ध’ सुरू भएको थियो ।
पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ ।
प्रचण्डले अनौपचारिक रूपमा पार्टी विभाजन गरेको ओलीले आरोप लगाएका छन् ।
Leave a Reply