Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • उत्तरी नाकामा ११ महीनादेखि सामान अलपत्र

    उत्तरी नाकामा ११ महीनादेखि सामान अलपत्र

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गतवर्ष माघदेखि बन्द चिनियाँ नाकाहरू अझैसम्म राम्ररी सञ्चालनमा आउन सकेका छैनन् । । कोरोनाका कारण सीमा खुलेपछि चिनियाँ पक्षले नै सीमावारिसम्म दैनिक बढीमा ५ कन्टेनरसम्म सामान ल्याइदिने गरे पनि नेपाली कन्टेनरहरू सीमापारि जान पाएका छैनन् ।

    चीनले कोरोना भाइरसको संक्रमण शुरू भएपछि गतवर्ष माघदेखि नेपालका उत्तरी सीमाहरू बन्द गरेको थियो । सरकारले उत्तरी नाका खुलाउन पहल गरेपछि असारपछि दैनिक पाँचओटा कन्टेनरसम्म नेपाल आउने गरी खुल्न थालेका थिए । असोजमा वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा चीनसँग वार्ता गरी सीमा खुला गरेपछि चीनले धेरै कन्टेनर नेपाल आउन दिए पनि कात्तिकपछि पुनः उत्तरी नाकाहरू बन्दप्रायः भएका छन् । व्यापारीहरूका अनुसार हाल चीनबाट मुश्किलले पाँचओटासम्म कन्टेनर सामानहरू सीमावारि आइरहेका छन् ।



    माघ अघिसम्म नेपाली व्यापारीहरूले आफ्नै कन्टेनर चीनमा लगेर सामान लोड गरेर ल्याउने गर्थे । नेपाली कन्टेनरहरू चीन पारि गएर सामान ल्याउँदा ७० देखि ८० लाख भाडा पर्ने गथ्र्यो तर कोभिडका कारण चीनले नेपाली कन्टेनर आफ्नो देशमा भित्रिन दिएको छैन । नेपाली कन्टेनरको ढुवानी रोकेर चीनले नै सीमा वारिसम्म आफ्ना कन्टेनरबाट सामान ढुवानी गर्ने निर्णय गरेपछि चीनतर्फको ढुवानी भाडा ह्वात्तै बढेको छ । व्यापारीहरूका अनुसार हाल एक कन्टेनर मात्र सामान आयात गर्नुपर्दा १२ लाखसम्म ढुवानी भाडा तिर्नु परेको छ । ‘चिनियाँ कन्टेनरले नै सीमावारिसम्म सामान छाडिदिन्छन्, अहिले नेपाली कन्टेनर पारि जान पाउँदैनन्,’ नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले भने, ‘पहिले ८० हजारमा हुने ढुवानी खर्च बढेर १२/१३ लाख पुगेको छ ।’



    संघका अनुसार विगत ११ महीनादेखि चीनमै रोकिएका नेपाली सामान विस्तारै नेपाल आउन थाले पनि अझै २२ सय कन्टेनरभन्दा बढी सामान सीमापारि छ । कति व्यापारीले उत्तरतिरै सामान फिर्ता गरिसकेकोमा कतिले सामान फिर्ता नहुँदा ११ महीनादेखि सामान कुरेर बसेको संघका अध्यक्ष पौडेलले बताए । ‘सामान सडेको गलेको बिग्रिएको कस्तो अवस्थामा छन् थाहा छैन, ढुवानी खर्च पनि १७ गुणासम्म बढेको छ,’ उनले भने ।

    सरकारले सीमा सहज बनाउने आश्वासन दिए पनि अहिलेसम्म नतीजा नआएको उनको भनाइ छ । ‘सरकारले सीमा खुलाउन पहल गरेर सीमा खुलाएको भने जस्तो अवस्था छैन,’ उनले भने, ‘पहल गरिरहेका छौं भनेको छ तर नतीजा उस्तै छ ।’

    संघले सीमामा भाडा बढी तिर्नु परेपछि भन्सारमा पनि यससम्बन्धी समस्या राखेकोमा सम्बोधन नभएको उत्तरी नाकामा भन्सार सहज बनाउन वार्ताको नेतृत्व गरिरहेका संघका सचिव लोप्साङ शेर्पाले बताए ।

    उनले व्यापारीहरूसँग छलफलै गरेर कन्टेनरको भाडा १ लाखभन्दा बढी नतिर्न आग्रह गरिएको जानकारी दिए । उनले भने, ‘व्यापारीहरूले नै बढी मूल्य तिरेर सामान आयात गरिरहेका छन्, त्यसो नगर्न आग्रह गरेका छौं ।’

    चीनले नोभेम्बर १४ पछि आफ्ना कन्टेनरहरूले गर्ने रोटेशन अन्त्य गर्ने निर्णय गरेको सुनेको बताउँदै उनले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताए ।

    ‘चीनले रोटेशन अन्त्य गरेपछि पुरानै मूल्यमा ढुवानी गर्न सकिनेछ,’ उनले भने, ‘होइन भने हामीले भन्सारमा छलफल गर्ने तयारी गरेका छौं ।’आजको आर्थिक अभियान दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार