Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • आइपिएल: बेंगलोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा

    आइपिएल: बेंगलोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा

    अनलाइन नेपाल
  • शनिबार, २२ कार्तिक २०७७
  • 3K
    SHARES

    एजेन्सी । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) क्वालिफायरमा पुगेको छ । शुक्रबार राती सम्पन्न एलिमिनेटर खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो ।

    हैदराबादले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्स दिल्लीलाई हराउँदै फाइनलमा पुगि सकेको छ । जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।



    हैदराबादको जितमा जेसन होल्डरले लगातार नवदीप सैनीलाई दुई चौका प्रहार गर्दै जित पक्का गरेका थिए । होल्डर २० बलमा ३ चौका सहित २४ रनमा अविजित रहे । केन विलियम्सन ४४ बलमा २ चौका र २ छक्का सहित ५० रनमा अविजित रहँदै क्वालिफायरमा स्थान पक्का गरे ।



    डेभिड वार्नर १७, मनिष पान्डे २४ र प्रियम गर्ग ७ रनमा आउट भए । बेंगलोरका मोहम्मद शिराजले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । एडम जाम्पा र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

    त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो । बेंगलोरका एबी डिभिलियर्सले ४३ बलमा ५ चौका सहित सर्वाधिक ५६ रनको योगदान दिएपनि जितको लागि पर्याप्त भएन । आरोन फिन्चले ३२ रन जोडे । अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । बेंगलोरका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बेंगलोरले आजको खेलमा विराट कोहली र देवदत्त पाडिक्कललाई ओपनिङ गराएको थियो । मध्य गतिका बलर जेसन होल्डरको दोस्रो ओभरको दोस्रो बलमा कप्तान विराट कोहली विकेटकिपर श्रीवात्स गोस्वामीबाट ६ रनमा क्याच आउट हुन पुगे । कोहली सिजनमा पहिलो पटक ओपनरका रुपमा उत्रिएका थिए । होल्डरलेनै चौथो ओभरको तेस्रो बलमा अर्का ओपनर पाडिक्कललाई १ रनमा प्रियम गर्गबाट क्याच आउट गराउँदै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

    तेस्रो विकेटका लागि आरोन फिन्च र एबी डिभिलियर्सले ४१ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए । तर स्पिनर शहबाज नदीमको ११ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका फिन्च कभरमा अब्दुल सामदबाट ३२ रनमा क्याच आउट भएका थिए ।

    फिन्चले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे । फिन्च आउट भएको दुई बलपछि मोईन अली शून्यमा रन आउट हुँदा बेंगलोर ६२–४ को कमजोर अवस्थामा पुगेको थियो । बेंगलोरका तल्लोक्रमका ब्याट्सम्यानले पनि क्रिजमा टिकेर रन बनाउन सकेनन् ।

    होल्डरले १६ औं ओभरको चौथो बलमा शिवम् दुबेलाई कप्तान डेभिड वार्नरबाट ८ रनमा क्याच आउट गराए । वासिन्टन सुन्दर ५ रनमा क्याच आउट भए । तीव्र गतिका बलर टि नटराजनले १८ औं ओभरको पाँचौ बलमा योर्करमा बोल्ड आउट गरेपछि बेंगलोर बलियो योगफलको सम्भावना टाढिएको थियो । नवदीप सैनी ९ र मोहम्मद शिराज १० रनमा अविजित रहे।

    हैदराबादका जेसन होल्डरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । टि नटराजनले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । शहबाज नदीमको नाममा एक विकेट रह्यो । दोस्रो क्वालिफायर आइतबार र फाइनल मंगलबार हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार