विदेशमा रहेका थप १ हजार नेपालीमा कोरोना संक्रमण

विदेशमा रहेका थप १ हजार नेपालीमा कोरोना संक्रमण

अनलाइन नेपाल
  • आइतबार, कार्तिक १६ २०७७

  • 5.1K
    SHARES

  • विदेशमा रहेका थप १ हजार नेपालीमा कोरोना संक्रमण

    लन्डन । कोरोना भाइरसको विश्वव्यापी दोस्रो लहर शुरु भए देखि विदेशमा रहेका नेपालीहरुमा पनि थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना नेपालीहरुलाई कोरोना संक्रमण देखिएको हो । संक्रमति मध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन् ।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट संक्रमण भएका हुन् । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन ।

    विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४३ हजार ५ सय ६९ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । ती मध्ये ३९ हजार ५ सय ६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

    गत साता सम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

    गैरआवासीय नेपाली संघले अति आवश्यक बाहेक अन्य कामको लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरानो भाइरसको विश्वव्यापी संक्रमणको कारणले युके, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अतिआवश्यक बाहेक अन्य प्रयोजनको लागि यात्रा तय नगर्न संघले आव्हान गरेको हो ।

    डा. सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेला समेत नगर्न आग्रह गरेका छन् । स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किदा मानिसहरुलाई सके सम्म माक्सको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन र अनिवार्य रुपमा माक्स प्रयोग गर्न अनुरोध गरेको छ ।

    गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुको संयुक्त पहलमा हाल सम्म ३३ देशका १ लाख २६ हजार ९ सय ८९ जना नेपालीहरुको उद्धार गरिएको छ ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार