काठमाडाैँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक ९ गतेदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोहीअनुसारको धरौटी राख्ने व्यवस्था लागु गरेको छ ।
अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले एक सूचना प्रकाशन गरी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशननुसारको शुल्क निर्धारण गरिएको जनाएका छन् । उनका अनुसार कुनै लक्षण नभएका सङ्क्रमितले रु सात हजार धरौटी राख्नुपर्ने र प्रतिदिन रु दुई हजार शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएकाहरु रु १२ हजार धरौटी राखेर भर्ना हुन सक्ने र प्रतिदिन रु तीन हजार ५०० शुल्क तिर्नु पर्ने छ । मध्यम लक्षण भएका बिरामीले रु ३५ हजार धरौटी र प्रतिदिन शुल्क रु सात हजार ५०० तिर्नुपर्नेछ । यस्तै गम्भीर लक्षण भएका बिरामीले रु ६० हजार धरौटी राखी दैनिक रु १५ हजार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
आर्थिक रुपले विपन्न, अशक्त र असहाय, असहाय एकल महिला, अपांगतायुक्त र ज्येष्ठ नागरिकलाई भने लक्षण देखिएमा सिफारिश तथा परिचयपत्रका आधारमा निःशुल्क उपचार गरिने जनाइएको छ । प्रतिष्ठानले पिसिआर परीक्षणका लागि रु दुई हजार २०० शुल्क तोकेको छ ।
यसअघि प्रतिष्ठानले सङ्क्रमितको उपचार निःशुल्क गर्दै आए पनि मन्त्रालयले शुल्क लिएर उपचार गर्न परिपत्र गरेपछि शुल्क निर्धारण गरेको हो । सरकारले कोरोना सङ्क्रमितका हकमा १४ दिनसम्म आइसोलेशनमा बस्ने प्रावधान बनाएकामा अहिले लक्षण नदेखिएका हकमा १० दिनमै घर फिर्ता गराउने र एक सातासम्म बिरामी स्वयंले होम आइसोलेशनमा बस्नुपर्ने मापदण्ड बनाएको छ । प्रतिष्ठानले पनि सोही प्रोटोकललाई लागु गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
Leave a Reply