महेन्द्रनगरपोष्ट । जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको शव झिक्न सशस्त्र प्रहरीको अत्तरियास्थित ७ नम्बर बाहिनीको गोताखोर टोली घटनास्थलतर्फ गएको छ।
आइतवार बिहान असई बिक मोहना नदीमा मृत फेला परेका थिए। नदीको पानीमा घोप्टो अवस्थामा शव भेटिएपनि त्यहाँबाट झिक्नका लागि सशस्त्र प्रहरीका असई बीरेन्द्र कार्की नेतृत्वको गोताखोर टोली परिचालन गरिएको सशस्त्रका डिआइजी हरिशंकर बुढाथोकीले बताए।
चौकीमै कार्यरत प्रहरी जवान रामबहादुर साउँद भने अझै सम्पर्कमा आइसकेका छैनन्। जुगेडामा कार्यरत चौकी इन्चार्ज बिक र जवान साउँद शनिवार राति मोटरसाइकलमा गस्तीमा निस्केको र बिहानसम्म नफर्किएपछि खोजी गरिएको थियो। तस्कर सँगको भिडन्तमा असई बिक मारिएको आशंका गरिएपनि त्यसको अझै पुष्टि हुन सकेको छैन्।
मोहना नदीले कैलालीको नेपाल–भारत सीमा छुट्टयाउछ। त्यो क्षेत्रमा बिगत देखि नै तस्करी हुँदै आएको छ। एकदिन अघि मात्रै प्रहरी चौकी जुगेडाले भन्सार छलि गरेर भारतबाट तस्करहरुले भित्र्याउदै गरेको सूर्तीलगायतका अबैध सामान बरामद गरेको थियो।
Leave a Reply