Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एक युवकमा कोरोना देखिएपछि वडा एक हप्ताका लागि सिल

    एक युवकमा कोरोना देखिएपछि वडा एक हप्ताका लागि सिल

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 3.6K
    SHARES

    खाेटाङ । साकेला गाउँपालिका–२ रतन्छाका एक युवकमा कोरोना सङ्क्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ ।

    काठमाडौँबाट आएका युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त वडालाई आगामी कात्तिक ३ गतेसम्मका लागि सिल गरिएको हो । घरपरिवार, छिमेकी, टोल, वडा र गाउँपालिकाका स्थानीयवासीलाई सम्भावित सङ्क्रमण हुनबाट बचाउन सिल गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।



    स्वदेशका विभिन्न ठाउँबाट आएका तथा विदेशबाट आएका २० जनाको स्वाब सङ्कलन गरेर परीक्षणमा पठाइएकामा एक जनाको रिपोर्ट पोजिटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले जारी गरेको सूचनामा उल्लेख छ ।



    पिसीआर परीक्षणका लागि उनीहरुको स्वाब असोज २० गते सङ्कलन गरेर बिराटनगर पठाइएको थियो । वडामा कोरोना भाइरसको सङ्क्रमित भेटिएपछि गाउँपालिकाबाट प्रवाह हुने अतिआवश्यकबाहेकका अन्य सेवासमेत बन्द गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिए ।

    यस अवधिमा गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ आसपासमा सञ्चालनमा रहेका होटल तथा पसल, बैंक तथा वित्तीय संस्था, साना तथा ठूला सवारी साधन बन्द गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिकामा यसअघि एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    यससँगै दश स्थानीय तह रहेको जिल्लामा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ३१ पुगेको छ । सङक्रमितमध्ये २१ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १० जना उपचारमा रहेका छन् ।

    दुई नगरपालिका आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन् । उक्त नगरपालिकाबाट पिसीआर परीक्षणमा पठाइएकामध्ये १६ जनालाई सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा शैलेस श्रेष्ठले बताए ।

    हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकामा चार÷चार, जन्तेढुङ्गा गाउँपालिकाका दुई, दिप्रुङ चुइचुम्मा, ऐसेलुखर्क, र बराहपोखरी गाउँपालिकाका एक÷एक जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

    केपिलासगढी गाउँपालिका र रावाबेँसी गाउँपालिकामा हालसम्म सङ्क्रमित फेला परेका छैनन् । केपिलासगढी गाउँपालिकाका ३५ र रावाबेँसी गाउँपालिकाका ६५ जनाको पिसीआर परीक्षण गरिसकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार