आरजु निकट बतासका सीईओ पौडेल कसरी बने निगमको जीएम ?::Best Online News Portal of Nepal

आरजु निकट बतासका सीईओ पौडेल कसरी बने निगमको जीएम ?

आरजु निकट बतासका सीईओ पौडेल कसरी बने निगमको जीएम ?

अनलाइन नेपाल
  • मंगलबार, असोज २७ २०७७

  • 53.6K
    SHARES

  • आरजु निकट बतासका सीईओ पौडेल कसरी बने निगमको जीएम ?

    काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा विवादास्पद डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ ।

    निगममा यसअघि कार्यकारी अध्यक्षका रुपमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको सरकारले २०७७ असोज २२ गते पौडेललाई महाप्रबन्धकमा नियुक्त गरेको छ । घिमिरेलाई अर्को ब्यवस्था नभएसम्मका लागि कार्यकारी अधिकार प्रयोग गर्नेगरी अध्यक्ष बनाइएको हो, पर्यटन मन्त्रालयका एक अधिकारीले भने, पौडेल नियुक्त भइसकेपछि घिमिरे स्वतः ‘सेरोमेनियल’ अध्यक्ष हुनेछन् ।

    पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल नेपाल कम्युनिस्ट पार्टीका निकट भए पनि उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु देउवाका ब्यापारिक पाटर्नर आनन्द बतासको कम्पनी इस्टर्न मोटर्स प्रालिका सीईओ हुन् ।

    इष्टर्न मोटर्स नेपालमा आइसर गाडीको आधिकारिक बिक्रेता हो । प्रकाश पौडेल पर्यटन मन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख हुँदा सदस्य थिए । पर्यटन मन्त्री भट्टराईले उनलाई निगमको बोर्ड सदस्य नियुक्त गरी अहिले महाप्रबन्धक बनाएका छन् ।

    लुम्बिनी विकास कोषको सदस्य सचिवमा प्रधानमन्त्री केपी शर्मा ओलीले सानुराजा शाक्यलाई नियुक्त गर्नका लागि पर्यटन मन्त्री भट्टराईको सिफारिसमा पौडेललाई निगमको महाप्रबन्धक बनाइदिएका छन् । भट्टराईले लुम्बिनी विकास कोषको सदस्य सचिवमा ताप्लेजुङका नेकपा नेता शिव गुरुङको नाम अगाडि बढाएका थिए । तर प्रधानमन्त्री ओलीले गुरुङको नियुक्ति नगरी शाक्यलाई बनाएका छन् ।

    बतास समूहले पौडेललाई निगम संचालक समितिको सदस्य नियुक्ति भएपछि सामाजिक संजालमार्फत बधाई समेत दिइसकेको छ । पौडेलको कनेक्सनबाट बतासले गतबर्ष भारत सरकारले बनाइदिएको धर्मशाला होटल संचालनका लागि लिजमा लिन सफल भएका थिए ।

    पशुपतिमा आउने पर्यटकका लागि बनाइदिएको धर्मशाला पौडेलले नै मन्त्री भट्टराईलाई प्रभावमा पारेर फुत्तकाएका थिए । कौडीको मूल्यमा धर्मशाला लिएर बतासले होटलमा परिणत गरेका छन् । जसमा करोडौंको आर्थिक लेनदेन भएको विषय चर्चामा आइसकेको छ । भारत सरकारले २२ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले बतासलाई ठेक्कामा दिएपछि यो बाँदरको हातमा नरिवल साबित भएको छ ।

    मित्रराष्ट्रले धर्मशाला उपहार स्वरुप बनाइदिए पनि पर्यटन मन्त्रालयले भने ब्यापारीलाई सुम्पिएर देशकै बेइज्जत गरेको छ । पशुपति क्षेत्र विकास कोषले धर्मशाला १५ वर्षका लागि बतास समूहको होटेल आनन्दलाई दिएको छरु। जुन ठेक्कामा लिने क्रममा ठूलै आर्थिक चलखेल भएको र त्यसको चाँजोपाँजो सबै प्रकाश पौडेलले नै मिलाएको स्रोतको दाबी छ ।

    पशुपति क्षेत्र विकास कोषका कर्मचारी स्रोतका अनुसार, बतासको तर्फबाट उक्त धर्मशालामा होटल संचालन गर्ने अनुमतिका लागि कनेक्सन मिलाउने बीचौलियाको काम नै प्रकाश पौडेलले गरेका थिए ।

    त्यसो त प्रकाश पौडेलले नेकपाबिरोधी धनन्जय रेग्मीलाई पर्यटन बोर्डमा सीईओ नियुक्ति गराउन समेत बीचौलियाको काम गरेका थिए । तत्कालीन एमाले र एकतापछि बनेको नेकपामा कुनै योगदान नभएका रेग्मी भ्रष्ट उच्च कर्मचारी र नेताको सम्पत्ति ब्यवस्थापन गर्ने पात्रका रुपमा चर्चित छन् । उनको लैनचौरमा टोयटा गाडीको सबडिलर रहेको छ ।

    अधिकारको विवाद
    सुगतरत्न कंसाकार कार्यकारी अध्यक्ष हुँदा २०६८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मदन खरेललाई संस्थान निर्देशन बोर्डबाट खुल्ला प्रतिस्पर्धा गराई मदन खरेललाई महाप्रबन्धक नियुक्त गरेका थिए ।

    त्यतिबेला खरेल र कंसाकारबीच को कार्यकारी भन्ने विवाद चलि नै रह्यो । २०७४ मा कंसाकार महाप्रबन्धक भएको समयमा प्रधानमन्त्री केपी ओलीले खरेललाई पुनः कार्यकारी अध्यक्षमा नियुक्त गरे ।

    खरेल र कंसाकारबीच पुनः अधिकारको बिषयमा चर्काचर्की परि नै रह्यो । कंसाकारको कार्यकाल सकिएपछि खरेल नै कार्यकारी अध्यक्षका रुपमा काम गरिरहेको समयमा योगेश भट्टराई पर्यटन मन्त्रीका रुपमा आए ।

    मन्त्री भट्टराईले यज्ञ गौतमको कार्यदल गठन गरे । त्यसपछि पुनः सुशील घिमिरेको अध्यक्षतामा निगम सुधार कार्यदल बनाए । त्यो कार्यदलमा प्रकाश पौडेल पनि सदस्य थिए । उनले संयोजक घिमिरेलाई कार्यकारी अध्यक्ष र पौडेललाई निगमको सदस्य मनोनयन गरे ।

    अहिले आएर पौडेललाई महाप्रबन्धक नै बनाएका छन् । विगतमा खरेल र कंसाकारजस्तै निगममा अधिकारको बारेमा लडाइँ हुने भएको छ । यद्यपि सुशील घिमिरे निगमको हालत र कर्मचारीको ब्यवहारबाट आजित भएर राजीनामा दिने सोचमा पुगिसकेको समाचार स्रोत बताउँछ । स्रोतका अनुसार उनी निगमको भद्रगोल अवस्थामा बित्थामा आएछु भन्दै पछुतोमा रहेको चर्चा पनि चलेको छ । यद्यपि मदन खरेललाई हटाउन भने उनले मन्त्री भट्टराईलाई हरतरहले सहयोग नै गरेका थिए ।

    कम्पनी बनाउने भन्दै भटाभट नियुक्ति
    पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई कम्पनी बनाउने भाषण पटक पटक गर्दैआएका छन् । तर त्यस विपरीत ४० अर्ब ऋण रहेको निगममा धमाधम अध्यक्ष र महाप्रबन्धक नियुक्ति गरी थप ब्ययभार थोपर्ने काम गरिरहेका छन् । कोभिड–१९ का कारण निगम झन्झन् धरासायी बन्दैगएको अवस्थामा अनावश्यक हाकिम भर्ति गरेर थप ब्ययभार थोपर्ने काम मन्त्रीले गरेका छन् । निगमलाई प्रतिस्पर्धी रुपमा विकास गर्न कम्पनी मोडेलमा लाने कुरा मन्त्री भट्टराईले भन्दैआएका छन् । तर एकपछि अर्को नियुक्ति गरेर मन्त्री भट्टराई मुखले एकथोक बोल्छन् र ब्यवहार अर्कै देखाउँछन् भन्ने टिप्पणी निगमका अधिकारीले गरेका छन् । (साँघु साप्ताहिक)

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार