Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आइपिएल: कोलकातामाथि बेंगलोरको उत्कृष्ट जित

    आइपिएल: कोलकातामाथि बेंगलोरको उत्कृष्ट जित

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 3K
    SHARES

    एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा कोलकाता नाइट राइडर्समाथि ८२ रनको उत्कृष्ट जित निकालेको छ । जारी सिजनमा पाँचौ जित निकालेसँगै बेंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन बनाउन सक्यो । कोलकाता कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

    चौथो ओभरको अन्तिम बलमा नवदीप सैनीले डेब्यू खेल खेलेका ओपनर टम ब्यान्टनलाई ८ रनमा बोल्ड आउट गरे । आठौैं ओभरको अन्तिम बलमा वासिन्टन सुन्दरले नितेश राणालाई ९ रनमा बोल्ड आउट गर्दै कोलकातामाथि दबाब बढाए । दशौं ओभरको तेस्रो बलमा सुभमन गिल ३४ रनमा रन आउट हुन पुगे । गिलले २५ रनमा ३ चौका र १ छक्का प्रहार गरे ।



    कोलकाताले निरन्तर विकेट गुमाई रह्यो । ११ औं ओभरको चौथो बलमा कप्तान दिनेश कार्तिकलाई युजभेन्द्र चहलले १ रनमा बोल्ड आउट गर्दै बेंगलोरलाई खेलमा हाबी बनाए । सुन्दरको १२ औं ओभरको पहिलो बलमा ओईन मोर्गन ८ रनमा इसुरु उडानाबाट क्याच आउट भएपछि कोलकाता ६४– ५ को कमजोर अवस्थामा पुगेको थियो ।



    कोलकाताको आशा र भरोसा सबै आन्द्रे रसेलमाथि रहेको थियो । तर उडानाको १४ औं ओभरको पाँचौ बल ठूलो सट खेल्ने धुनमा मोहम्मद शिराजबाट १६ रनमा क्याच आउट भएपछि जितको सम्भावना सकिएको थियो । रसेलले १० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

    तल्लोक्रमका ब्याट्सम्यानले पनि ठूलो इनिङ खेल्न सकेनन् । प्याट कमिन्स १, राहुल त्रिपाठी १६ र कमलेश नगरकोटी ४ रनमा आउट भए ।

    बेंगलोरका वासिन्टन सुन्दरले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । क्रिस मोरिसले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहल, इसुरु उडाना, मोहम्मद शिराज र नवदीप सैनी एक एक विकेट लिए ।

    त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९४ रन बनायो । बेंगलोरलाई बलियो लक्ष्यमा पुर्याउन एवी डिभिलियर्स ३३ बलमा ५ चौका र ६ छक्का सहित ७३ रनमा अविजित रहे । कप्तान विराट कोहली २८ बलमा १ चौका सहित ३३ रनमा अविजित रहे ।

    कोहली र डी भिलियर्सले तेस्रो विकेटका लागि ४७ बलमा १ सय रनको अविजित उत्कृष्ट साझेदारी गरेपछि बेंगलोरले बलियो योगफल तयार पारेको हो । बेंगलोरले अन्तिम पाँच ओभरमा कुनै विकेट नगुमाई ८३ रन जोड्न सफल भयो ।

    बेंगलोरलाई पहिलो विकेटका लागि ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ७.४ ओभरमा ६७ रनको साझेदारी गरेका थिए । आन्द्रे रसेलले पाडिक्कललाई ३२ रनमा बोल्ड आउट गरे । पाडिक्कलले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरको दोस्रो बलमा युवा तीव्र गतिका बलर प्रसिद्ध कृष्णले फिन्चलाई ४७ रनमा बोल्ड आउट गरे । फिन्चले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आन्द्रे रसेलले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । प्रसिद्ध कृष्णाले ४ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । बेंगलोरले अव बिहिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । कोलकाताले शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार