काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बलात्कारीलाई मृत्यु दण्ड दिनुपर्ने धारणा राखेका छन् । पछिल्लो समय देशैभरि नै बलात्कारका घटना बढिरहेको बेला मुख्यमन्त्रीको यस्तो धारणा सार्वजनिक भएको हो ।
बलात्कारका घटना बढेपछि चौतर्फी रुपमा अपराधीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने माग उठिरहेका बेला मुख्यमन्त्री राउतले पनि संविधान संशोधन गरेर बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउनुपर्ने धारणा राखेका हुन् ।
एक अनलाईनसँगको अन्तर्वार्ताका क्रममा मुख्यमन्त्री राउतले भनेका छन्–‘मानवमा पाशविक प्रवृत्ति अत्यधिक बढेको छ । यसबारे बेलैमा नसोचिए हाम्रा छोरीचेलीहरु अझै बलात्कृत हुन सक्ने अवस्था आउन लागेको छ । यसबारे गम्भीर भएर सोच्नुपर्ने आवश्यकता छ ।’
बलात्कार गर्नेलाई पर्याप्त सजायँ नभइरहेको अनुभूति मुख्यमन्त्री राउतले गरेका छन् । उनी भन्छन्–‘जोसँग पैसा छ, केही समय थुनामा बस्छ र उम्किहाल्छ’ राउत भन्छन्, यो भावना बलात्कारीमा देखिएको छ । बाँकी जीवन जेलभित्रै सड्नुपर्छ भन्ने डर उसमा आएकै छैन । जहाँ दण्ड छैन, त्यहाँ कानुनको औचित्य हुँदैन । प्रहरीले अपराधीलाई समातेर ल्याए पनि दण्डित गर्ने किसिमले मुद्दा फायल गर्न सकेनौं भने हाम्रो औचित्य के रहन्छ ?’
कडा किसिमको सजायँ भएमात्रै बलात्कारका घटना कम हुने बताउँदै मुख्यमन्त्री राउतले भनेका छन्–बलात्कारी वा बलात्कारपछि हत्या गर्नेलाई मार्नैपर्छ । अन्यथा, बलात्कारका घटना भइरहन्छन् ।’
बलात्कार गर्नेलाई आजीवन कैद गरेर मात्र नहुने र मृत्युदण्ड नै दिनुपर्नेमा जोड दिँदै उनले अगाडि भने–‘यस्ता अपराधीलाई त साँच्चिकै सार्वजनिक ठाउँमा गोली ठोक्नुपर्छ । संविधान संशोधन गरेर यो व्यवस्था ल्याउनु अति जरुरी छ ।’
Leave a Reply