Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • निर्माण व्यवसायीले पैसा नदिएर भागेपछि श्रमिकको बिचल्ली

    निर्माण व्यवसायीले पैसा नदिएर भागेपछि श्रमिकको बिचल्ली

    अनलाइन नेपाल
  • बिहिबार, २२ असोज २०७७
  • 4.3K
    SHARES

    फाइल फोटो

    खोटाङ । सडक ढलानको काम गरेको पैसा नदिइ निर्माण व्यवसायी फरार भएपछि श्रमिकहरु आक्रोशित बनेका छन् । भर्खरै सम्पन्न खोटाङको दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोक–सिचाईँ गेटसम्मको सडक ढलानको काममा खटिएका श्रमिकको पैसा नदिई निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि श्रमिकहरु आक्रोशित बनेका हुन् ।

    गत भदौ २८ गते सडक ढलानको काम सकेपछि ‘विमान राई’ भनिने निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि रासनबाहेक काम गरेको एकै पैसा पनि आफूहरुले नपाएको श्रमिक सुक्छिरी शेर्पाले बताए । शेर्पाका अनुसार रु तीन लाख ९५ हजार ३५० रकम पाउनुपर्नेबारे निर्माण व्यवसायी विमान र श्रमिकबीच हिसाब भएको थियो ।



    सडक ढलानको काम सकेपछि पैसा लिन दिक्तेलमा बोलाएको तर, पेटी ठेकेदार भागेको श्रमिकहरुले बताएका छन् । आफूहरुले काम गरेको पैसा नपाएपछि पैसा दिलाइ दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र प्रहरीसम्म पुगे पनि उनीहरुले समेत बेवास्ता गरेको श्रमिकहरुको गुनासो छ ।



    आफूहरुले पाउने पैसा दिलाइ दिन दुई पटक नगरपालिका पुगेर समस्या राख्दा नगर उपप्रमुखले वकिलसँग कुरा गर्नु भन्दै टारेको शेर्पाले बताए । दिक्तेलस्थित सामुदायिक प्रहरी सेवा केन्द्र पुग्दा पनि प्रहरीले समेत पैसा लेनदेनको कारोवार हेर्दैनौँ भन्दै अदालत जान भनेर फर्काइ दिएको उनीहरुको गुनासो छ ।

    आफूबाट कन्ट्र्याकमा काम लिएका विमानले रु सात लाख ७० हजार बराबरको काम गरेको र आफूले सबै रकम भुक्तानी दिइसकेको अर्का निर्माण व्यवसायी लोकेन्द्र राईले बताए । “श्रमिकले पैसा नपाएको भन्ने मैले पनि सुनेको छु”, उनले भने, “विमानजी मसँग नि सम्पर्कमा छैन । सम्पर्क गर्दा उनको फोन अफ पाइएको छ ।”

    किराँतचोकदेखि सिचाईँगेटसम्मको सडक ढलान दिव्य ज्योति आरडी रुजन जेभीले ठेक्का पारेकामा राईमार्फत कन्ट्र्याकमा लिएर विमानले काम गरेका थिए । अहिले काम लगाउने निर्माण व्यवसायी भागेपछि १९ जनाभन्दा बढी श्रमिक दिक्तेल बजारमै अलपत्र परेका छन् ।

    लामो समयसम्म कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल बजारको सडक यस वर्ष तीन खण्डमा विभाजन गरेर ढलाको काम गरिएको थियो । शहरी विकास तथा भवन निर्माण विभाग विराटनगरको क्रमागत योजनाअन्तर्गत करिब रु १५ करोड रकम लागतमा सम्पन्न हुने दिक्तेल बजारको सडक ढलानका लागि यस वर्ष रु पाँच करोड बजेट थियो ।

    मध्यपहाडी लोकमार्गले छोएको दिक्तेल बजार ढिलै भए पनि ढलान हुन थालेपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । हप्ताको दुई पटक बुधबार र शनिबार हटियासमेत लाग्ने दिक्तेलबजारको सडकमा अहिले हिउँदको समयमा धुलो र बर्सातको समयमा हिलोका कारण समस्या हुने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार