काठमाडौँ। ‘सस्तो मूल्यमा डलर साट्छौ’ भनेर एकान्तमा बोलाएर लुट्ने समूहका ४ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३८ वर्षीय श्रीखण्ड तामाङ, हर्क तामाङ, बुद्दिबहादुर तामाङ उर्फ चैते र ६० वर्षीय गोविन्द तामाङ रहेका छन् ।
नुवाकोटका पोन्जोम शेर्पालाई पाँचखालको लामिडाँडामा बोलाएर सो समूहले ‘सस्तोमा डलर साटिदिन्छौं’ भन्दै १० लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले बताए ।
गत १२ साउनमा १० लाख लुटेपछि उनीहरु फरार थिए । लुटपाटमा संलग्न चारैजना सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का हुन् ।
लुटपाटमा संलग्न आरोपीमध्ये हर्क तामाङलाई प्रहरीले बुढानिकलण्ठबाट पक्राउ गरेको हो । गोविन्द र बुद्धिलाई सिन्धुपाल्चोकको साँगा चोकबाट र श्रीखण्डलाई बनेपाबाट पक्राउ गरिएको एसपी पौडेलले बताए ।
आरोपीलाई प्रहरीले ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
Leave a Reply