काठमाडौं। प्रहरी महानिरीक्षक शैलेल थापा क्षेत्री निकै नरम स्वभावका छन् । उनको नेतृत्वको प्रहरी भने रुखो हुँदै गएको छ । महानिरीक्षक थापाले कार्यशैली सुधार गर्न निर्देशन दिएपछि फिल्डमा कार्यान्वायन भएको छैन ।
यसको पछाडि तालिमदेखिकै समस्या रहेको प्रहरी अधिकारीहरु बताउँछन् । भिड नियन्त्रण कसरी गर्ने भन्ने विषयमा प्रहरीलाई पर्याप्त तालिमको कमी छ । अर्कोतर्फ स्रोत साधन पनि पर्याप्त छैन ।
अर्को कारण भने प्रहरी कर्मचारीमा डिउटीप्रति उत्साह छैन । कोरोना महामारीको बेला प्रहरीमा संक्रमण धेरै भएकाले पनि उनीहरु तनावमा छन् । यस्तो अवस्थामा सरकारले दिने भनेको भत्ता समेत उपलब्ध नगर्दा पनि त्यसको असर फिल्डमा समेत पर्ने प्रहरी अधिकारीहरुको भनाई छ ।
प्रहरीको बल प्रयोग पछिल्लो समय बढेको होइन । पछिल्लो समय सूचना प्रविधि र सामाजिक सञ्जालको युग भएकाले सानो घटना पनि भाइरल भइहाल्ने भएकाले बढी चर्चा भएको हो । यस्तो अवस्थामा प्रहरीले फिल्डमा अझै धेरै संवेदनशील हुनु जरुरी देखिएको छ ।
सीमामा सेटिङमा तस्करी
भारतसँगको सीमा नाका ६ महिनादेखि बन्द छ । तर, तस्करी भने बन्द हुन सकेको छैन । दशैं नजिकिदै गएपछि सीमा क्षेत्रमा उपल्लो तहमा रहेका प्रहरी अधिकारीकै सेटिङमा तस्करी सुरु भएको स्रोत बताउँछ ।
झापामा गत शनिबार तस्करीको सामान छुटाउन चार प्रहरीले घुस लिएको खुलेपछि निलम्बन गरिएको छ । असई भरत कोइराला, हवल्दार शिवचन्द्र मुखिया, जवान भिमलाल चौधरी र जवान मनकुमार रुवाललाई जिल्ला प्रहरी कार्यालय झापाले निलम्बन गरेको हो ।
उनीहरुले तस्करीको मल बोकेको ट्याक्टर ताराबारी ढाटमा पक्राउ गरेका थिए । मलको बिल नभएकोले तस्करीको भएको पुष्टि भएको थियो । तर, माथिल्लो निकायलाई जानकारी नै नदिई ढाटमा कार्यरत प्रहरीले ट्याक्टर छाडिदिएका थिए । ६५ हजार घुस लिएर छाडेको खुलेपछि निलम्बन गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सीमा बन्द भएपनि तराईका जिल्लाहरुमा तस्करी रोकिएको छैन । कडाईको बहानामा पछिल्लो समय नाकामा घुसखोरी बढेको छ,दृष्टि साप्ताहिकमा खबर छ ।
Leave a Reply