Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आइपिएल : सुपर ओभरमा बेंगलोरको जित

    आइपिएल : सुपर ओभरमा बेंगलोरको जित

    अनलाइन नेपाल
  • मंगलबार, १३ असोज २०७७
  • 2.8K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

    सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो । नवदीप सैनीको सुरुवाती दुई बलमा काइरन पोलार्ड र हार्दिक पान्ड्याले १-१ रन लिए । तेस्रो बलमा पोलार्डले डट खाए । चौथो बलमा पोलार्डले चौका प्रहार गरेपनि पाँचौ बलमा भने उनी क्याचआउट हुन पुगे । अन्तिम बलमा हार्दिकले १ रन लिए ।



    जवाफमा मुम्बईका जसप्रित बुमराहविरुद्ध बेंगलोरका कप्तान विराट कोहली र एबी डी भिलियर्स ब्याटिङमा आएका थिए । पहिलो बलमा एबीले एक रन जोडे । दोस्रो बलमा कोहलीले पनि सिंगल लिए । तेस्रो बलमा बुमराहले कट बिहाइन्डको लागि अपिल गरेपछि अम्पायरले आउट दिए । तर दि भिलियर्सले रिभ्यु गर्दै निर्णय उल्टाएका थिए ।



    चौथो बलमा डी भिलियर्सले चौका प्रहार गर्दै बेंगलोरलाई जितनजिक पुर्याए । पाँचौ बलमा सिंगल लिएपछि कोहली अन्तिम बलमा १ रन आवश्यक परेको अवस्थामा स्ट्राइकमा आए । अन्तिम बलमा कोहलीले चौका प्रहार गर्दै बेंगलोरलाई जित दिलाए ।

    त्यसअघि जितका लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
    अन्तिम ओभरमा मुम्बईलाई जितको लागि १९ रन आवश्यक परेको थियो । इसुरु उडानले अन्तिम ओभरमा पहिलो र दोस्रो बलमा एक एक रन दिए ।

    तेस्रो बलमा इशान किशनले छक्का प्रहार गरेपछि खेल थप रोचक बनेको थियो । चौथो बलमा पनि उत्कृष्ट छक्का प्रहार गरेपछि नतिजा मुम्बजिततर्फ बढेको थियो । तर पाँचौ बलमा ईशान किशान ९९ रनमा देवदत्त पाडिक्कलबाट क्याच आउट भएपछि खेल थप रोचक बन्न पुग्यो । अन्तिम बलमा पोलार्डले चौका प्रहार गर्दै खेल बराबरीमा पुर्याए ।

    मुम्बईलाई जितको लागि अन्तिम ३० बलमा ९० रन आवश्यक रहेको थियो । १७ औं ओभरमा तीन छक्का र एक चौका सहित स्पिनर एडम जाम्पाले २७ रन खर्चेपछि मुम्बई खेलमा फर्केको थियो । १८ औं ओभरमा युजभेन्द्र चहलले तीन छक्का सहित कुल २२ रन खर्चेपछि जितको लागि अन्तिम १२ बलमा ३१ रन आवश्यक परेको थियो । १९ औं ओभरमा नवदीप सैनीले १२ रन खर्चेका थिए ।

    किशनले ५८ बलमा २ चौका र ९ छक्का सहित ९९ रनमा क्याच आउट भए । काइरन पोलार्ड २४ बलमा ३ चौका र ५ छक्का सहित ६० रनमा अविजित रहे । पाँचौ विकेटका लागि किशन र काइरन पोलार्डले १ सय १९ रनको साझेदारी गरेका थिए ।

    मुम्बईले सुरुवात खराब गरेको थियो । दोस्रो ओभरको चौथो बलमा रोहित शर्मा ८ रनमा क्याच आउट भए । रोहितलाई स्पिनर वासिन्टन सुन्दरले वैकल्पिक फिल्डिर पवन नेगीबाट क्याच आउट गराएका थिए । तेस्रो ओभरको दोस्रो बलमा सूर्यकुमार यादवलाई इसुरु उडानाले विकेटकिपर एबी डी भिलियर्सबाट क्याच गराए ।

    स्पिनर युजभेन्द्र चहलले सातौं ओभरको चौथो बलमा क्विन्टन डी ककलाई १४ रनमा नेगी क्याच आउट गराउँदै दबाब बढाए । १२ औं ओभरको दोस्रो बलमा हार्दिक पान्ड्या १५ रनमा आउट भएपछि मुम्बई ७८–४ को कमजोर अवस्थामा पुगेको थियो । पान्ड्यालाई एडम जाम्पाले नेगीबाटै क्याच आउट गराएका थिए ।

    एडम जाम्पाले ४ ओभरमा ५३ रन खर्चेर १ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट लिए । इसुरु उडानाले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए ।

    दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । एबी डी भिलियर्स २४ बलमा ४ चौका र ४ छक्का सहित ५५ रनमा अविजित रहेका थिए । शिवम दुबे १० बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे ।

    बेंगलोरलाई ओपनर आरोन फिन्च र देवदत्त पाडिक्कलले ९ ओभर सम्म ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । ट्रेन्ट बोल्टको नवौं ओभरको अन्तिम बलमा फिन्च काइरन पोलार्डबाट ५२ रनमा क्याच आउट भए । फिन्चले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

    कप्तान विराट कोहली तेस्रो खेलमा पनि असफल भए । कोहलीलाई स्पिनर राहुल चहरले १३ औ ओभरको दोस्रो बलमा रोहित शर्माबाट ३ रनमा क्याच आउट गराए । १८ औं ओभरको पहिलो बलमा बोल्टले पोलार्डबाट क्याच गराउँदै पाडिक्कललाई ५४ रनमा पेभिलिएन फर्काए । पाडिक्कलले ४० बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

    ट्रेन्ट बोल्टले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । स्पिनर राहुल चहरले ४ ओभरमा ३१ रन खर्चेर एक विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा ४२ रन खर्चेपनि विकेट लिन सकेनन् ।

    मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो । चौथो खेलमा मुम्बईले बिहिबार किंग्स इलेभेन पञ्जाबसँग खेल्ने छ ।

    पहिलो खेलमा बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो । दोस्रो खेलमा किंग्स इलेभेन पञ्जाबसँग ९७ रनको फराकिलो हार बेहोरेको थियो । चौथो खेलमा बेंगलोरले शनिवार राजस्थान रोयल्ससँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार