Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आइपिएल: राजस्थानको कीर्तिमानी जित

    आइपिएल: राजस्थानको कीर्तिमानी जित

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 3.3K
    SHARES

    एजेन्सी । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमानी जित निकालेको छ । राहुल टेवाटियाको अविश्वसनीय ब्याटिङ प्रदर्शनमा आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै कीर्तिमान रचेको हो ।

    जितका लागि २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । आइपिएल इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पछ्याएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि आइपिएलमा सर्वाधिक रन चेशको कीर्तिमान पनि राजस्थानकै नाममा थियो । राजस्थानले सन् २००८ को आइपिएलमा डेकन चार्जर्सविरुद्ध २ सय १५ रनको लक्ष्य पूरा गरेको थियो ।



    राजस्थानको जितमा राहुल टेवाटिया ३१ बलमा ७ छक्का ५३ रनको महत्त्वपूर्ण योगदान दिए । सुरुवाती समय निकै सुस्त इनिङ खेलेको कारण आलोचना खेपेका राहुल अन्त्यमा जितको नायक बने ।



    एक समय राजस्थानलाई जितका लागि ३० बलमा ८४ रन आवश्यक थियो । १८ औं ओभरमा राहुल तेवटियाले तीव्र गतिका बलर शेल्डन कटरेललाई एकै ओभरमा ५ छक्का सहित ३० रन जोडेपछि खेलले नयाँ मोड लिएको थियो । पाँचौ बलमा छक्का प्रहार गर्न चुकेपछि ६ बलमा ६ छक्का प्रहार गर्न चुकेका थिए । राजस्थानलाई अन्तिम १२ बलमा जितको लागि २१ रन आवश्यक परेको थियो ।

    टेवाटियाले सुरुवाती १९ बलमा कुनै चौका छक्का प्रहार गर्न नसकी जम्मा ८ रन बनाएका थिए । उनले अन्तिम १२ बलमा ४५ रन जोड्दै कठिन बनेको जितलाई सम्भव बनाए ।

    राजस्थानका सन्जु स्यामसनले सर्वाधिक ८५ रनको योगदान दिए । मोहम्मद शामीको १७ औं ओभरको पहिलो बलमा विकेटपिकर लोकेश राहुलबाट क्याच आउट हुनुअघि स्यामसनले ४२ बलमा ७ छक्का र ४ छक्का प्रहार गरे ।

    तेस्रो ओभरको दोस्रो बलमा शेल्डन कटरेलले जस बटलरलाई ४ रनमा शरफराज खानबाट क्याच आउट गराए । जेम्श निशमको नवौं ओभरको अन्तिम बलमा मोहम्मद शमीबाट ५० रनमा क्याच आउट गराए । स्मिथले २७ बलमा ७ चौका र २ छक्का प्रहार गरे । जोफ्रा आर्चर ३ बलमा २ छक्का सहित १३ रनमा अविजित रहे । टम करनले पहिलो बलमा चौका प्रहार गर्दै जिताएका थिए ।

    जेम्श निशमले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए । शेल्डन कटरेलले ३ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए ।

    त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २ सय २३ रन बनाएको थियो । पन्जाबलाई विशाल योगफलमा पुर्याउन ओपनर मयंक अग्रवालले शतक र कप्तान लोकेश राहुलले अर्ध शतकीय योगदान दिए । जारी सिजनको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि जारी सिजनमा राजस्थानले चेन्नई सुपर किग्सविरुद्ध २ सय १६ रन बनाएको थियो ।

    अग्रवालले ५० बलमा १० चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक १ सय ६ रनको उत्कृष्ट शतकीय इनिङ खेले । अग्रवालले १५ औं ओभरको अन्तिम बलमा स्पिनर श्रेयस गोपाललाई चौका प्रहार गर्दै ४५ बलमा शतक पूरा गरेका थिए । अग्रवालको आइपिएलमा यो पहिलो शतक हो । अग्रवाललाई टम करनले सन्जु स्यामसनबाट क्यान गराउँदै उत्कृष्ट साझेदारी तोडेका थिए ।

    ओपनर राहुल र अग्रवालले पहिलो विकेटको लागि १६.३ ओभरमा १ सय ८३ रनको साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । कप्तान लोकेश राहुल ५४ बलमा ७ चौका र १ छक्का सहित ६९ रनमा क्याच आउट भए । यसअघि रोयल च्यालेन्जर्सविरुद्ध राहुलले १ सय ३२ रनको उत्कृष्ट इनिङ खेलेका थिए । राहुललाई १८ औं ओभरको अन्तिम बलमा अंकित राजपूतले गोपलाबाट क्याच आउट गराए ।

    ग्लेन म्याक्सवेल ९ बलमा २ चौका सहित १३ रनमा अविजित रहे । निकोल पूरनले ८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २५ रनमा अविजित रहे ।

    राजस्थानका टम करनले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । अंकित राजपूतले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा ४६ रन खर्चेपनि विकेट लिन सकेनन् ।

    पहिलो खेलमा पन्जाब दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा पन्जाबले बेंगलोरलाई ९७ रनले हराएको थियो । पन्जाबले आफ्नो चौथो खेलमा अक्टोबर १ मा मुम्बई इन्डियन्ससँग खेल्ने छ । राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराएको थियो । तेस्रो खेलमा सेप्टेम्बर ३० मा कोलकाता नाइट राइडर्ससँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार