Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • किशोरीलाई बली दिन भारत लैजान खाेजेकाे आशंकामा तीन जना पक्राउ, १२ लाख रूपैयाँकाे ‘डिल’

    किशोरीलाई बली दिन भारत लैजान खाेजेकाे आशंकामा तीन जना पक्राउ, १२ लाख रूपैयाँकाे ‘डिल’

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 3.1K
    SHARES

    विराटनगर । किशोरीलाई बली दिन भारत लैजान खाेजेकाे आशंमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

    सुनसरीको रामधुनी नगरपालिका-५ की १७ वर्षीया किशोरीलाई नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका-१७ इश्लामपुरको बाटो हुँदै भारत लैजान खोजिएको प्रहरीले जनाएकाे छ । सोमबार साँझ ७ बजेतिर उनलाई साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको छ ।



    उनलाई भारततिर लिएर जाँदै गरेका तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर-५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी-१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका-३ घर भएका सुनसरीको रामधुनी-५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल रहेका छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार घटनाका मुख्य योजनाकार सुमित भएको खुलेको छ। प्रदीप उनका सहयोगी हुन् ।



    सुमितले मनिकालाई प्रयोग गर्दै प्रदीपको पनि सहयोग लिएर किशोरीलाई भारत पुर्‍याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए । ‘किशोरीको उद्धार गर्दै उनलाई भारत लैजान खोज्नेलाई पक्राउ गरिएको छ,’ उनले भने, ‘घटना गम्भीर देखिएका कारण विभिन्न कोणबाट अनुसन्धान थालिएको छ।’ एसपी खड्काले पैसाको प्रलोभन देखाएर विराटनगर ल्याइएकी किशोरीलाई भारत पुर्‍याउन खोजेको पाइएपछि घटनालाई गम्भीर रुपमा लिइएको बताए।

    प्रहरीका अनुसार उनको तीन/चार वर्षअघि फेसबुकमार्फत सप्तरी घर भएका सुमितसँग चिनजान भएको खुलेको छ। सम्पर्क बढेपछि नजिकिएका सुमितले किशोरीलाई विराटनगरसम्म ल्याउन मनिकालाई प्रयोग गरेको देखिने प्रहरीका एक अधिकारीले बताए।

    सुमित र उनका भिनाजुबीच किशोरी उपलब्ध गराउने विषयलाई लिएर १२ लाख रुपैयाँको ‘डिल’ भएको खुलेको छ। प्रहरी स्रोतका अनुसार किशोरी लगिदिए वापत १२ लाख रुपैयाँ भिनाजु र उनका भाइले सुमितलाई उपलब्ध गराउने सर्त रहेको थियो।

    त्यही सर्तका आधारमा सुमितले मनिकालाई प्रयोग गरेर किशोरीलाई भारत पुर्‍याउँदै भिनाजु र उनका भाइको जिम्मा लगाउने तयारी गरेको पाइएको छ। किशोरी उपलब्ध गराएवापत सुमितले तीन/चार लाख दिने भनेपछि पैसाको अभाव रहेकाले आफू पनि यस काममा लागेको मनिकाले बताएकी छन्। रामधुनीस्थित घरबाट किशोरीलाई उनी एक्लैले विराटनगर ल्याएको खुलेको छ। सुमित र प्रदीपसँग भने उनीहरुको विराटनगरमा भेट भएको थियो।

    किशोरीले बाटोमा लैजाने क्रममा फित्ता लगाएर आफ्नो उचाई पनि नाप्ने काम भएको बताइकी छन्। ‘पूजामा बस्न ५.२ फिट उचाई भएकी केटी चाहिन्छभन्दै उचाई नापेका थिए,’ उनले भनिन्, ‘रजस्वला भए÷नभएको बारेमा पनि सोधिखोजी गरे।’ विवाह गरेर र महिनावारी भएका बेला पूजामा बस्न नहुनेभन्दै उनीहरुले रजस्वलाका बारेमा आफूसँग सोधिखोजी गरेको किशोरीले प्रहरीलाई बताएकी छन्।

    उनले आफूलाई कालो कपडा लगाएर पूजामा बस्नुपर्नेभन्दै सिकाएको पनि बताएकी छन्। १२ लाख रुपैयाँमा ‘डिल’ भएको घटना सार्वजनिक भएपछि प्रहरीले बली दिन बालिकालाई लगिएको हुन सक्ने आशंका गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार