Online Nepal
  • बुधबार, १० पुष २०८१
  • तथ्यहीन र झुटा समाचार प्रकाशित भइरहेको भन्दै राष्ट्रपतिको आपत्ति

    तथ्यहीन र झुटा समाचार प्रकाशित भइरहेको भन्दै राष्ट्रपतिको आपत्ति

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्ने वताएकी छन् ।

    प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति  भण्डारीले आमसञ्चारमाध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्नेमा जोड दिइन ।



    राष्ट्रपति भण्डारीले ‘राज्यको चौथो अङ्ग’ पत्रकारिता लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकविना लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताइन । उनले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका अपरिहार्य तत्व रहेको बताउँदै भनिन , ‘लोकतन्त्रको निरन्तर अभ्यासको क्रममा आमसञ्चारको क्षेत्रमा देखिएका कतिपय कमीकमजोरी क्रमशः हट्दै जानेछन् भन्ने आशा गरेको छु, सबै पत्रकारले पत्रकार आचारसंहिता पालना गर्ने अपेक्षा लिएको छु ।’ पत्रकार आचारसंहिताको पूर्ण पालनाका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन ।



    ‘अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी तथ्यहीन र झुटा समाचार एवं भ्रामक विचार कतिपय सञ्चारमाध्यममा प्रकाशित र प्रसारित भइरहेको छ’, उनले भनिन , ‘सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुटा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनेको छ । नेपालको सन्दर्भमा यस चुनौतीको सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ ।’

    राष्ट्रपति भण्डारीले पत्रकारितालाई जिम्मेवार बनाउँदै जनताको सुसूचित हुन पाउने अधिकारको संरक्षणका लागि प्रेस काउन्सिलले सञ्चार क्षेत्रको अनुगमन र अनुसन्धानका साथै आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम र पत्रकारको पहिचान गरी कानूनी कारवाहीका लागि गरेको प्रयास सराहनीय रहेको उल्लेख गरिन । उनले यस वर्ष विश्वभरिका सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत कोभिड–१९ को महामारीबाट पीडित हुनुपरिरहेकामा दुःख लागेको र आफू नेपालका पत्रकारले सामना गर्नुपरेको चुनौतीका बारेमा जानकार रहेको समेत वताइन ।

    ‘प्रतिकूल परिस्थितिमा समेत अविचलित रूपमा पेशाप्रतिको दायित्व वहन गर्ने पत्रकारिता क्षेत्रको म उच्च मूल्याङ्कन गर्दछु’, उनले भनिन, ‘यस सन्दर्भमा पत्रकार स्वयं पनि कोरोनाबाट सङ्क्रमित हुनुभएको छ । म उहाँहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।’ रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार