काठमाडौं । सुनौलो परिवार नेपालले कोरोना कहरकाबीच पनि आफ्नो सेवालाई निरन्तरता दिएको छ । मेरी स्टोप्स् इन्टरनेश्नलको साझेदारीमा सन् १९९४ देखी मेरी स्टोप्स् सेन्टर र बिभिन्न घुम्ती शिबिरबाट सेवाग्राहीलाई गुणस्तरिय र सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य सेवा दिंदै आइरहकोे सुनौलो परिवार नेपालले लकडाउनको विषम परिस्थीतिमा पनि आफ्नो सेवालाई निरन्तरता दिएको हो ।
कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट देशभर पहिलो चरणको लकडाउन घोषणा गर्यो । सरकारले जारी गरेको लकडाउनका केही दिन मेरी स्टोप्स्का सेवा प्रवाहमा अन्यौलता छायो । तर केही दिन पछि सेवालाई निरन्तरता दिने निर्णयमा पुग्यो । र लकडाउन र निषेधाज्ञाको कठिन परिस्थीतिमा समेत निरन्तर रुपमा आफ्नो सेवा प्रवाह जारी राखेको मेरी स्टोप्स् नेपालकी उप-निर्देशक सम्झना सिंह जिसीले जानकारी दिईन ।
सुरक्षित गर्भपतन तथा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको मेरी स्टोप्स्लाई काम गर्न भने सहज थिएन । एकातिर कोरोनाको त्रास र अर्काेतिर आफ्नो सेवा प्रवाहको जिम्मेवारी । तर पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सेवालाई निरन्तरता दिईएको उप-निर्देशक जिसीले बताईन ।
मेरी स्टोप्स् नेपालले लकडाउन र निषेधाज्ञाको चार महिनाको अवधीमा मात्रै पाँच हजारभन्दा बढीको सुरक्षित गर्भपतन गराएको छ । लकडाउन सुरु भएपछि अप्रिल महिनामा ८१८, मे महिनामा १ हजार ५७, जुनमा १ हजार ३९४ र जुलाईमा १ हजार ७ सय ९५ जनाको सुरक्षित गर्भपतन गराएको मेरी स्टोप्स् नेपालकी उप-निर्देशक जिसीले जानकारी दिईन ।
कोरोना कहरका बीच पनि आफ्नो सेवालाई निरन्तरता दिँदा सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गरेर सेवा प्रदान गरिएको मेरी स्टोप्सले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा अत्याबस्यक बाहेक घर बाहिर निस्कँन निषेध गरेको थियो । त्यो समयमा सेवा लिने महिलाहरुलाई सेन्टरसम्म पुग्न समस्या परेको थियो । सुरक्षितरुपमा गर्भपतन गराउन हिडेका महिलाहरुलाई प्रहरीले बाटोमा रोकेर विभिन्न सोधपुछ गर्ने तथा बाटोबाटै फर्काउने गरेको थियो ।
उनीहरुले आफ्नो कुरा खुलेर भन्न नसक्ने भएकाले पनि समस्या परेको मेरी स्टोप्स् नेपालले जनाएको छ । तर पछिल्लो समय भने मेरी स्टोप्स् नेपालले प्रहरीसँग समन्वय गरेकाले सेवाग्राहीले त्यस्तो समस्या भोग्न परेको छैन ।
सुनौलो परिवार नेपालले मेरी स्टोप्स् सेन्टरसँगको सहकार्यमा देशभर रहेको ३० वटा सेन्टर मध्ये ३ वटा सेन्टरहरुबाट निःशुल्क सेवा प्रदान गरिरहेको छ । ईटहरी, तौलिहरुवा र प्यूठानका मेरी स्टोप्स् सेन्टरबाट निःशुल्क रुपमा सेवा प्रदान गरिरहेको उप-निर्देशक जिसीले बताईन ।
उप-निर्देशक जिसीका अनुसार तीन स्थानका स्थानीय सरकारको अनुरोधमा निःशुल्य सुरक्षित गर्भपतन सुरु गरिएको हो । जिल्लामा असुरक्षित रुपमा गर्भपतन गराउँदा धेरैको अकालमा मृत्युसमेत हुने गरेकाले स्थानीय सरकार र सेन्टरको सहकार्यमा निःशुल्क रुपमा गर्भपतन गराउन थालिएको हो ।
नेपालमा लकडाउन सुरु भएको केही दिन चिकित्सकहरुमा पनि अन्यौलता छायो । तर केही दिनभित्रै त्यसको समाधान निस्कियो । समाधानको विकल्प थियो, वर्क फ्रम होम र अपोईन्मेन्ट । र त्यसै अनुरुप टेलिफोनमा कुराकानी गरेर, समय निर्धारण गरेर सेवा प्रदान गर्न थालिएको मेरी स्टोप्स् नेपालका मेडिकल सर्भीस म्यानेजर डा. अब्दुल रैफले जानकारी दिए ।
डा. रैफका अनुसार सुरु–सुरुका दिनहरुमा काम गर्न निकै असहजताको अवस्था सृजना भयो । तर पनि सेवा प्रवाह गर्ने प्रण गरेकाले उनीहरुलाई कुनै पनि डरले रोक्न सकेन । लकडाउन भएको चार महिनाको अवधीमा मात्रै पाँच हजारभन्दा बढीको सुरक्षितरुपमा गर्भपतन गराईसकेपछि अहिले कोरोना संक्रमणको डर सामान्य जस्तै बनेको छ, तर स्वास्थ्य सुरक्षाका सम्पूर्ण सावधानी अपनाइएको डा. रैफको भनाई छ ।
सरकारले देशभर लकडाउन घोषणा गर्यो । केही दिन रोकिएको मेरी स्टोप्स् नेपालको सेवा पनि पूर्वबत रुपमा सञ्चालन गर्ने सहमति बन्यो । तर बजारमा स्वास्थ्य सुरक्षाका सामग्री पाउन निकै कठिन भयो । सुरु–सुरुका कही दिन बजारमा मास्क पाउनै गाह्रो भयो, अन्य समाग्रीको त कुरै भएन ।
केहि दिन पछि मास्क, सेनिटाईजर, पन्जा, पीपीई पाउन सहज बन्यो । स्वास्थ्य सुरक्षाका सामग्री सहज रुपमा उपलब्ध हुन थालेपछि काम गर्नका लागि अनुकुलता मिल्दै गएको मेडिकल सर्भीस म्यानेजर डा. अब्दुल रैफले आफ्नो अनुभव सुनाए ।
Leave a Reply