Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • भारत र ओलीको नाम बेच्दा राजेन्द्र महतोलाई ठुलो समस्या

    भारत र ओलीको नाम बेच्दा राजेन्द्र महतोलाई ठुलो समस्या

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 4.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। पाँच महिनाअघि अस्तित्वमा आएको जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोण र व्यवहारलाई लिएर मतभेद उत्पन्न भएको छ ।

    नयाँ शक्ति नामक पार्टी विघटन गरेर मधेशकेन्द्रित समूहमा मिसिएका डा. बाबुराम भट्टराई केपी ओलीविरुद्ध निर्मम प्रहार गर्दै अघि बढ्नु्पर्छ भन्ने पक्षमा देखापरेका छन् भने राजेन्द्र महतोलगायतका केही नेता प्रधानमन्त्रीसँग सम्बन्ध सुधार गरी सकेसम्म सरकारमै सहभागी हुनुपर्छ भन्ने सोच राखेका छन् ।



    खासगरी राजेन्द्र महतोले ‘अब केपी ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने भएकोले ओलीसँग मिलेर जाने र सरकारमा सहभागी हुनुपर्ने’ कुरामा जोड दिने गरेका छन् ।



    महतोले महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ र बाबुराम भट्टराईसँग केपी ओली र आफ्नो बीचमा घनिष्ट सम्बन्ध रहेको बताउँदै तत्काल केपीसँग भेटी पार्टीलाई सरकारमा लैजाने वातावरण बनाउने विश्वाससमेत दिलाएका छन् ।

    बाबुराम भट्टराईको असहमतिका बाबजुद महतोले प्रधानमन्त्रीको सचिवालयमा बारम्बार सम्पर्क गरी भेटघाटको व्यवस्था मिलाइदिन आग्रह गरे , तर मिलाउने भन्दाभन्दै धेरै दिन गुज्रिएपछि महतो नेकपाका महासचिव विष्णु पौडेलकहाँ पुगे ।

    आफ्नो भाजपा नेता अमित शाह, सुरक्षा सल्लाहकार अजित डोभल र नेपालस्थित भारतीय राजदूतलगायतसँग घनिष्ट सम्बन्ध रहेकोले केपी ओलीसँग भारतको राम्रो मित्रता बनाइदिन सक्ने विश्वास दिलाउँदै नेता महतोले प्रधानमन्त्रीसँग आफूलाई भेटाइदिन आग्रह गरे ।

    यसरी आग्रह गर्दा महतोले नेपालस्थित भारतीय राजदूतावास र भारतीय गृहमन्त्री अमित शाह आफ्नो मुठ्ठीमै रहेकोसम्म भन्न भ्याएका थिए । जसपालाई सरकारमा सहभागी गराइसकेपछि सरकार पनि दिगो हुने र नेपाल–भारत सम्बन्धमा पनि सकारात्मक परिवर्तन आउने रायसमेत महतोले पौडेलसमक्ष प्रकट गरेका थिए ।

    आफ्ना यिनै एजेण्डासहित विष्णु पौडेललाई भेटेर प्रधानमन्त्रीसँग सम्वाद गराइदिन आग्रह गर्दा पनि महतोको इच्छा पूरा हुन सकेन । त्यसपछि महतो नेकपाका युवा नेता महेश बस्नेतको सम्पर्कमा पुगी प्रधानमन्त्रीसँग भेट गराइदिन आग्रह गरे ।

    तर, बस्नेतबाट पनि प्रधानमन्त्रीसँग भेट गर्ने महतोको इच्छा पूरा हुन नसकेपछि जसपाभित्र राजेन्द्र महतोको हैसियतलाई लिएर हँसिमजाक हुन थालेको छ ।

    ज्ञातव्य छ, ६ महिनाअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई सत्ताको साझेदार बन्न प्रस्ताव गरेका थिए । त्यसबेला राजपालाई सरकारमा सहभागी हुनबाट रोकाउने काम यिनै महतोबाट भएको थियो ।

    त्यसबेला महतो सरकारविरुद्धको षडयन्त्रमा सक्रिय ढङ्गले सहभागी नभएको भए सत्ता–राजनीतिमा नयाँ मोड आउने निश्चित थियो । महतोले गरेको षडयन्त्रबारे सम्पूर्ण जानकारी भएकोले नै अहिले प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग भेट गर्न उत्साही नभएको बुझिएको छ ।

    यसरी राजेन्द्र महतोमार्फत सरकारसँगको सम्बन्ध सहज बनाउने कार्य सम्भव नभए पनि जसपका सबैजसो प्रमुख नेताहरू केपी ओलीप्रति सकारात्मक बनेको बताइन्छ । बाबुराम भट्टराईबाहेक सबै प्रमुख नेताहरू ओलीसँग सम्बन्ध सुधार गर्दै सरकारमा सहभागिताको वातावरण बनाउने मानसिकतामा रहेको जानकारी प्राप्त भएको छ ।

    जसपाभित्र अधिक चलखेल गर्ने र सधैं आत्मकेन्द्रित भूमिका निर्वाह गर्ने भन्ने छवि बनाएका राजेन्द्र महतोले प्रधानमन्त्री र भारतसँगको आफ्नो सम्बन्ध देखाएर हालसम्म पार्टीमा बेग्लै स्थान बनाउँदै आएका थिए  । प्रधानमन्त्री केपी ओलीले झैँ भारतीय पक्षले पनि राजेन्द्रलाई महत्व नदिने हो भने पार्टीमा उनको हैसियत र प्रभाव नराम्रोसँग खस्किने देखिएको छ । (घटना र बिचारबाट साभार)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार