Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अख्तियारका नमुना प्रमुख : जसले हजार खानेलाई छोडेनन्, अर्ब लिनेलाई छोएनन्

    अख्तियारका नमुना प्रमुख : जसले हजार खानेलाई छोडेनन्, अर्ब लिनेलाई छोएनन्

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 6.1K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे आज बिदा हुँदै छन् । भ्रष्टाचारको छानबिन गर्ने जिम्मेवारीलाई तामेलीमा राखेर प्रमुख आयुक्तको कार्यकाल पूरा गरेका उनको शैलीलाई देशले बिर्सनलायक ठानेको छ ।

    किनकि उनको नेतृत्वमा रहेको अख्तियार एक अर्ब २४ करोडको औषधि खरिदमा ओम्नीलाई विनाप्रतिस्पर्धा ठेक्का, नेपाल ट्रस्टका जग्गामा यतीको एक्लौटी र रेलमार्गका नाममा ३३ अर्बको ठेकेदारी मिलेमतोलगायतका दर्जनभन्दा बढी ठूला काण्डमा छानबिन गर्ने दायित्वबाट पन्छियो ।



    भ्रष्टाचार निवारण गर्ने संवैधानिक आयोगको नेतृत्वमा बसेका घिमिरे आफैँले प्रमुख आयुक्त र पूर्वसचिवको रूपमा दोहोरो सुविधा लिएर नैतिक बल समाप्त बनाएका थिए । चार वर्ष आयुक्त र दुई वर्ष प्रमुख आयुक्त रहँदा उनले अख्तियारबाट तलब र पूर्वसचिवको हैसियतमा पेन्सनसमेत बुझिरहेका थिए । यो विषयमा २४ जेठ ०७६ मा समाचार प्रकाशित भएपछी घिमिरेले न यो शैली सुशासनकै पक्षमा छ भनेर दाबी गरे, न सुविधा त्यागे ।



    नैतिकतालाई नै आधार बनाएर अन्य कतिपय संवैधानिक पदमा नियुक्त भएका व्यक्तिहरूले यसरी दोहोरो सुविधा लिएका छैनन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, कानुन आयोगका अध्यक्ष माधव पौडेललगायतले यस्तो सुविधा लिने गरेका छैनन् । तर, अख्तियार प्रमुख घिमिरेले त्यसमा नैतिकता देखाएनन् ।

    ०७२ सालमै केपी ओली नेतृत्वको सरकारले पेन्सन लिइरहेका पूर्वकर्मचारी अन्यत्र नियुक्त भए पेन्सन नदिने नीतिगत निर्णय गरेको थियो । त्यसविरुद्ध रिट परेपछि सर्वोच्चले नैतिक प्रश्न भनेको थियो । अहिले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइसकेको निजामती विधेयकमा दोहोरो सुविधा लिन नपाउने उल्लेख छ ।

    दाउपेच जानेको समाज पनि चकित किन छ भने एक हजार घुस लिएको आरोपमा अख्तियारले १२ जनालाई पक्राउ गरेको थियो ।

    घुस लिनु दण्डनीय कसुर हो । तर, एक हजार घुस खाएको आरोपमा १२ जनालाई पक्राउ गरेर अख्तियारले साँच्चै अनौठो नजिर बनाएको थियो । तर, मुद्दा दर्ता गर्दा दुईलाई मात्र अभियुक्त बनाइयो ।

    एक हजार रुपैयाँ घुस खाएको आरोपमा ४२ दिनसम्म अख्तियारको थुनामा परेका मालपोतका कर्मचारी रामहरि सुवेदी विशेष अदालतबाट धरौटीमा मुक्त भए। तर घर आएको एक साता नपुग्दै ६ असोज ०७६ मा अख्तियारको अत्याचार सहन नसकी आफ्नै निवासमा पासो लगाई आत्महत्या गरे ।

    विशेष अदालतले फैसला दियोे, ‘हजार रुपैयाँ घुस लिएको भन्दै अख्तियारको स्टिङ अपरेसनमा पक्राउ परेका रामहरि निर्दोष हुन ।

    अदालतले खासमा त्यो घुस नै थिएन भनेर प्रमाणित गरिदियो । अख्तियारले स्थापना गरेको यो उदाहरणले नेपालमा भ्रष्टाचारविरुद्धको लडाइँको निसानामा कस्ता मान्छे छन् र कस्ता मान्छे उम्किरहेका छन् भन्ने प्रस्ट पारेको छ ।

    नयाँपत्रिका दैनिकबाट ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार