Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • पुनर्कर्जाको आवेदन लिन बैंकको आनाकानी

    पुनर्कर्जाको आवेदन लिन बैंकको आनाकानी

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । पुनर्कर्जाका लागि ग्राहकबाट आवेदन संकलन गर्न राष्ट्र बैंकले निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाले आनाकानी गरेका छन् ।निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले पहिलो चरणका लागि भदौ १ देखि असोज १४ सम्म पुनर्कर्जाका लागि ग्राहकबाट आवेदन संकलन गरिसक्नुपर्छ । तोकिएको समय सकिन अब करिब १८ दिन मात्र बाँकी छ ।

    गएको झन्डै एक महिनामा बैंक तथा वित्तीय संस्थामा अपेक्षित रूपमा आवेदन संकलन नभएको स्रोतले बताएको छ । ‘बैंक तथा वित्तीय संस्थाले खासै चासो देखाएनन्,’ स्रोतले भन्यो, ‘उनीहरूका कारणले मापदण्ड पुगेका कोभिड–१९ का धेरै पीडितले पनि सहुलियत दरको पुनर्कर्जा नपाउने सम्भावना बढ्यो ।’



    बैंक तथा वित्तीय संस्थाले आवेदन संकलन गर्न आनाकानी गरेको गुनासो राष्ट्र बैंकसमक्ष पनि पुगिसकेको छ । यसबारे गभर्नर महाप्रसाद अधिकारी नै जानकार छन् । समसामयिक विषयमा गत साता राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसँग गरेको अन्तर्क्रियामा गभर्नर अधिकारीले नै यस विषयमा चासो राखेका थिए ।



    ‘पुनर्कर्जाका लागि आवेदन लिन बैंक तथा वित्तीय संस्थाले आनाकानी गरिरहेको गुनासो प्राप्त भएको छ,’ उनले भने, ‘राष्ट्र बैंकले जारी गरेका नीतिगत व्यवस्थाप्रति जिम्मेवार रहन सबैलाई आग्रह गर्दछु ।’

    गभर्नर अधिकारीको यो भनाइबाट नै बैंक तथा वित्तीय संस्था पुनर्कर्जाका लागि संवेदनशील नभएको पुष्टि हुने राष्ट्र बैंककै एक उच्च अधिकारीले बताए । ‘नयाँ कर्जा प्रवाह भएको छैन, बैंकमा पर्याप्त तरलता छ,’ ती अधिकारीले भने, ‘यसकारण पनि बैंकले चासो नदेखाएका होलान् ।’

    पुनर्कर्जा प्रवाह गरेका बैंकलाई अन्य कर्जामा जस्तो धेरै नाफा हुँदैन । यसकारण कोभिडका कारण सबैतिर नाफा घटिरहेका बेला पुनर्कर्जा प्रवाहमा बैंकहरूलाई जाँगर नचलेको हुन सक्ने उनको भनाइ छ । ‘राष्ट्र बैंकको निर्देशन हो, तोकिएको पुनर्कर्जा प्रवाह नगरे कारबाही भोग्नुपर्छ,’ उनले भने ।

    ‘वाणिज्य बैंककै शाखाहरूले ग्राहकलाई हाम्रो कोटा पूरा भयो, अर्को बैंकमा जानुस् भन्दै आवेदन नबुझेकालगायत धेरै उजुरी आएका छन्,’ राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले भने, ‘हेड अफिसले कोटा निर्धारण गरिदिन्छ, कोटा संख्या थोरै हुन्छ लगायत बहानामा ग्राहक फर्काएको गुनासो आएको छ ।’ आजको कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार