काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई विधि र प्रक्रियाबाट सञ्चालन गर्नुपर्ने बताएका छन् ।
नेकपा स्थायी कमिटीकाे शुक्रबार बसेको बैठकमा वरिष्ठ नेता नेपालले तत्कालीन समस्या समाधान गर्न सहयोग पुगेपनि दिर्घकालीन समाधानका लागि विधि,पद्धति र प्रक्रियालाई स्थापित गर्नुपर्ने बताए ।
उनले पार्टी एकता गर्नु भनेको दुई अध्यक्षको मात्रै एकता नरहेको समेत बताउदै पार्टीको एकता तलैसम्म हुनुपर्ने आम कार्यकर्ताको समेत कार्यविभाजन हुनुपर्ने बताएका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
'दुई अध्यक्षको प्रतिवेदनमा माधव कमरेडको आलोचनात्मक समर्थन रह्यो । अहिले तत्कालको समस्या समाधान हुने अपेक्षा छ । पार्टीलाई विधि विधान र पद्धति अनुसार सञ्चालन गर्ने हो । त्यो कुरामा ध्यान गएन भने एकता-एकता भनेर मात्रै हुँदैन ।'
वरिष्ठ नेता नेपालको भनाई उदृत गर्दै ती स्थायी कमिटी सदस्यले भने, 'अहिलेको गाँठो फुकाउन यो प्रतिवेदन सकारात्मक छ । यसको कार्यान्वयन कसरी हुन्छ, त्यो महत्वपूर्ण कुरा हो ।'
'कार्यदलको प्रतिवेदनभन्दा अहिले अलि फरक आएको छ। यसर्थमा दुई अध्यक्षको कार्यविभाजनमा केही प्रष्ट पनि पारिएको छ।' नेपालको भनाई उदृत गर्दै अर्का एक नेताले भने, 'अहिलेसम्मको लडाइँले केही कुरा त ल्याएको छ। यो पनि ठिकै छ। यसलाई धेरै चर्काउने परिस्थिति पनि छैन । यसलाई समाधानको बाटोमा लैजानुपर्छ ।'