Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • किन रोकियो अक्सफोर्डको खोप परीक्षण ?

    किन रोकियो अक्सफोर्डको खोप परीक्षण ?

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 3K
    SHARES

    एजेन्सी। अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसविरुद्ध बनाएको खोप परीक्षणमा सहभागी एक जना स्वयंसेवक बेलायतमा बिरामी परेपछि अन्तिम परीक्षण तत्कालका लागि रोकिएको छ ।

    अस्ट्राजेनेकाले ‘एउटा व्याख्या गर्न नसकिने बिरामी’ का कारण अन्तिम क्लिनिकल परीक्षणमा ‘नियमित’ बिराम गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ । न्युयोर्क टाइम्स समाचारपत्रले बेलायतको परीक्षणमा सहभागी एक जना स्वयंसेवकमा ट्रान्सभर्स मायालाइटिस (मेरुदण्डको नसा सुन्निने) समस्या देखिएको जनाएको छ । भाइरल संक्रमणका कारण हुने उक्त बिमारीले मानिसको मेरुदण्डमा असर पुर्‍याउन सक्ने जनाइएको छ ।



    यद्यपि सहभागी स्वयंसेवकमा खोपकै कारण उक्त समस्या देखिएको यकिन नभइसकेको बीबीसीले उल्लेख गरेको छ । यसबारे थप अनुसन्धान गर्न स्वतन्त्र जाँचबुझ गरिने जनाइएको छ । खोपको अन्तिम अर्थात् तेस्रो परीक्षणको नतिजा कस्तो आउँछ भनेर संसारभरका मानिसले चासो व्यक्त गरिरहेका बेला पछिल्लो समाचार सार्वजनिक भएको हो । खोपको तेस्रो परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल, दक्षिण अफ्रिकालगायत देशका झन्डै ३० हजार स्वयंसेवक सहभागी छन् ।



    तेस्रो चरणको परीक्षणका क्रममा हजारौं जनालाई खोप दिएर यसको प्रभावकारिता, साइड इफेक्ट तथा सबै समूहका मानिसमा सुरक्षित भए/नभएको परीक्षण गरिन्छ । वैज्ञानिकहरूका अनुसार यो प्रक्रिया पूरा गर्न लामो समय लाग्न सक्छ ।

    हाल संसारभर करिब एक दर्जन खोप विकासका क्रममा छन् । तीमध्ये अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी हुने अपेक्षा गरिएको छ । अस्ट्राजेनेकाले विभिन्न देशमा उक्त खोपका ४० करोडभन्दा बढी डोज आपूर्तिको पहिलो सम्झौता गरिसकेको छ । बेलायतले मात्र यो खोप १० करोड डोज किन्न सम्झौता गरिसकेको छ ।

    अमेरिकी सरकारबाट १ अर्ब डलर बढी सहयोग पाएको कम्पनीले सन् २०२१ भित्रमा खोपको एक अर्ब डोज उत्पादन गर्ने क्षमता राख्छ । खोप परीक्षणमा तत्काल गरिएको स्थगनलाई सामान्य कदम भएको कतिपय जानकारहरूको भनाइ छ ।

    बेलायतको बर्मिङघम विश्वविद्यालयका औषधि विज्ञानका वरिष्ठ उपप्राध्यापक एवं युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा. विभु पौड्याल उक्त खोपको परीक्षण केही दिनमा सुचारु हुने बताउँछन् । खोपको मुख्य सामग्री नभई निर्माणका क्रममा प्रयोग भएका अन्य पदार्थ जस्तै तरल झोल तथा केही केमिकलले मानिसको शरीरमा सामान्य प्रतिक्रिया उत्पन्न हुन सक्ने उनको भनाइ छ ।

    उनका अनुसार खोपका कारणले हो भने पनि त्यस्तो प्रतिकूलताप्रति सतर्कता अपनाएर ट्रायल जारी राख्न प्रोटोकल परिवर्तन हुन सक्ने पौडेलले जनाए । उनका अनुसार मानिसले अन्य औषधि सेवन गर्दा जस्तै मधुमेहको औषधि खाँदा पेट दुख्ने, कोलेस्ट्रोलको खाँदा मांसपेशी दुख्नुजस्तै यसलाई सामान्य मान्न सकिन्छ ।

    ‘कहिलेकाहीं यस्तो नकारात्मक लक्षण औषधि खानेबित्तिक्कै भयो भने त्यो औषधिकै कारणले नहुन पनि सक्छ । त्यसैले यसबारे थप अध्ययन गरेर मात्र निष्कर्षमा पुग्न सकिन्छ,’ पौडेलले भने । कान्तिपुर दैनिकमा नवीन पोखरेलले खबर लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार