Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडौं प्रवेश नाकामा तैनाथ आठ सुरक्षाकर्मीमा कोरोना संक्रमण

    काठमाडौं प्रवेश नाकामा तैनाथ आठ सुरक्षाकर्मीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 2.2K
    SHARES

    काभ्रे । काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी–नाका काभ्रप्लाञ्चोकको साँगामा तैनाथ आठ सुरक्षाकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। एक साता अघि दुई जना सुरक्षाकर्मीमा कोरोना देखिएको थियो। अहिले थप आठ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

    मंगलबार काभेमा संक्रमण देखिएका १० जनामध्ये आठ जना साँगा नाकामा तैनाथ सशस्त्र प्रहरी रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमान्ड पोस्टले जनाएको छ। सङ्क्रमितलाई उपचारका लागि तत्कालै आइसोलेसनमा राखिएको पोस्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए। उनका अनुसार जिल्लामा हालसम्म ४० सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको छ। साउनमा साँगा नाकाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो।



    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले एक हप्ताको अवधिमा सवारी साधनका तीन हजार चार सय ८२ यात्रुको स्वाब परीक्षण गर्दा १३ मा कोरोना पोजेटिभ भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उनका अनुसार लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेशमा तीन नाका काभ्रेपलाञ्चोकको साँगा, ललितपुरको फर्पिङ र काठमाडौंको थानकोटमा यात्रुको कारोना सङ्क्रमण नमूना परीक्षण गर्न स्वाब सङ्कलन गरेको थियो। गतसाता साँगा नाकामा सङ्क्रमण देखिएका दुई सुरक्षाकर्मीको सम्पर्कमा आएकाको पीसीआर परीक्षण गर्दा केहीलाई सङ्क्रमण देखिएको सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालले जनाएको छ।



    गणले ‘विशेष सतर्कता’ अपनाई स्वास्थ्य–सुरक्षा मापदण्डानुसार गतिविधि गर्न आफ्ना प्रहरी कर्मचारीलाई सचेत गराएको छ। ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका पाँच जना सैनिकमा पनि कोरोना सङ्क्रमण देखिएको छ।

    पोस्टका अनुसार अहिलेसम्म बनेपास्थित सङ्घीय प्रहरी कार्यालयका १९ प्रहरी, सशस्त्र प्रहरीका १० जना, धुलिखेलस्थित नेपाली सेनाका आठ र जिल्ला प्रहरी कार्यालय धुलिखेलका तीन प्रहरीमा कोरोना देखिएको छ। त्यस्तै, अहिलेसम्म जिल्लामा कार्यरत ६६ स्वास्थ्यकर्मी, अस्पतालमा उपचाररत एक सय चार बिरामी, समुदायमा रहेका ८६ जना, वैदेशिक रोजगारबाट फर्केका २५ जना, ६ जना कर्मचारी, दुई जनप्रतिनिधि, एक कानुन व्यवसायी र एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार