Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मृत्युको मुखबाट फर्किएँ, कोरोनालाई ‘अन्डर स्टिमेट’ नगरौं  : डा. कार्की

    मृत्युको मुखबाट फर्किएँ, कोरोनालाई ‘अन्डर स्टिमेट’ नगरौं  : डा. कार्की

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 5.3K
    SHARES

    काठमाडौं । नेपालमा उपलब्ध सबै किसिमका उपचार विधि प्रयोग गरेर बाँचेका एकजना डाक्टरले कोभिड-१९ लाई कमजोर नआँक्न आग्रह गरेका छन् । कोरोना संक्रमणपछि भेन्टिलेटरमा समेत पुगेका विराट मेडिकल कलेजका सञ्‍चालक डा. ज्ञानेन्द्र मान सिंह कार्कीले आफूले पुनर्जीवन नै पाएको बताएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतवार उपस्थित भएका डाक्टर कार्कीले पटक पटक कोभिड-१९ लाई कमजोर नआँक्न चेतावनी दिए। ‘कोभिड-१९ लाई ‘अन्डर स्टिमेट’ नगरौँ। घरमा बेसार पानी खाएर ठीक हुन्छ भन्‍ने भ्रम हो।



    यस्ता कुराले सरकारको प्रयासलाई धमिल्याउन खोजेको छ’, उनले भने, ‘झुक्किएर पनि कोभिडलाई ‘अन्डर इस्टिमेट’ नगरौँ। यसबाट डराइ हाल्नुपर्ने अवस्था नरहला । तर यसलाई ‘अन्डर स्टिमेट’ गर्नु भयंकर भूल हुनेछ।’ कोरोनाबाट गम्भीर बिरामी परेका डाक्टर कार्कीलाई प्लाज्मा थेरापी विधिबाट गरिएको उपचारले मात्रै निको नभएपछि त्रिवि शिक्षण अस्पतालमा रेमिडिसिभर औषधि पनि चलाइएको थियो।



    डाक्टर कार्कीले युवा उमेरकालाई कोरोनाले असर गर्दैन भन्‍नु कुरा पनि गलत रहेको बताए। ‘जवानलाई कोभिडले खासै असर गर्दैन भन्‍ने भ्रम छ। तर म भन्छु, साँढे जस्तो भएर बजार घुम्ने काम नगरौं’, उनले अगाडि भने, ‘यो रोगले कसैलाई पनि छाड्दैन, बालक, वृद्ध, जवान कसैलाई पनि छाड्दैन। संक्रमण भएपछि यसले कुन रुप लिन्छ सोच्‍न पनि सकिँदैन।’ कार्कीले सचेत हुँदा हुँदै पनि आफैं संक्रमणमा परेको स्मरण गरे।

    ‘मैले समयमा राम्रो उपचार नपाएको भए, उपचारका लागि काठमाडौंमा नआएको भए आज मेरो मृत्यु भएको १५/१८ दिन भइसकेको हुने थियो’, उनले भने, ‘मृत्युको मुखबाट बाँचेर आएको मान्छे हो म। डाक्टरहरुले कुनै दिन त मलाई माया मारिसकेका थिए। कुनै पनि ‘एंगल’मा यसलाई ‘अन्डर इस्टिमेट’ नगरौं।’ डाक्टर कार्कीले सकेसम्म कोरोना लाग्‍नै नदिन उपाय अपनाउनुपर्ने बताए। ‘रोग लाग्‍नुभन्दा लाग्‍नै नदिनु उत्तम हो।

    संक्रमण भइसकेको बिरामीमा भोलि कस्तो असर पार्छ हामीलाई थाहा छैन’, उनले अगाडि थपे, ‘हामीले इमान्दारीपूर्वक सरकारका नियम पालना गरौं। कोरोनाबाट जोगिन पशुपतिको साँढे जस्तो भएर बस्‍ने हो वनकालीको बाँदर जस्तो उफ्रिने होइन।’ कार्कीले कोभिडले केही गर्दैन भनेर कसैले घमण्ड गर्न नहुने पनि चेतावनी दिए। ‘कोभिडले केही गर्दै भनेर कसैले घमण्ड नगरौं। एकचोटी रोग लाग्यो भने के के हुन्छ टुंगो हुँदैन’, उनले भने, ‘स्वास्थ्यकर्मीले अझै बढी तयारी गर्नुपर्छ।

    हामी स्वास्थ्यकर्मी स्वस्थ रहेमा मात्रै समाज स्वस्थ रहन्छ। एकजना डाक्टरलाई हामीले गुमायौँ भने ठूलो क्षति हुन्छ।’ उनले कोरोना संक्रमितलाई हेर्ने नेपाली समाजको दृष्टिकोण राक्षसी रहेको बताए। ‘कोरोना लागेकालाई हेर्ने दृष्टिकोण राक्षसी प्रवृत्तिको छ। यो बाट कोही पनि अछुतो छैन’, उनले अगाडि थपे, ‘कृपया संवेदनशील बन्‍नुस्, मनोबल गिराउने, अन्याय हुने र हेप्‍ने काम नगरौं।’

    पटक पटक संक्रमित र चिकित्सकहरूमाथि दुर्व्यवहार भइरहेकोमा उनले चित्त दुखाए। ‘गल्ती एकचोटी गरेकोलाई मानिन्छ। बारम्बार गल्ती दोहोर्याउँदा त्यो अपराध हो। अब त बुझ्‍नुस्’, उनले भने, ‘सहर बजारमा त यो विभेद छ भने गाउँमा कस्तो होला? भोलि गएर आत्मग्लानि नहोस्।’ अब कोरोनासँगै हिँड्नुको विकल्प नरहेको उनले बताए। कुनै पनि भाइरस एक पटक आइसकेपछि हत्तपत्त नजाने बताउँदै अब कोरोनासँग उठबसको विकल्प नरहेको उल्लेख गरे।

    ‘कोरोना आयो अब तिमी आयौ, हामी सँगै हिँडौँ भन्‍नुको विकल्प छैन। कोरोनासँग हामीले बाँच्‍न सिक्नुपर्छ’, उनले थपे, ‘भाइरस कहिल्यै पनि जाँदैन। मास्क लगाउने, हात धुने, सामाजिक दूरी बनाउने। यति गरेपछि हामीले हाम्रो दैनिक जीवनलाई सुरक्षासाथ चलायमान बनाउनुको विकल्प पनि छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार