Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोभिड–१९ ले बदलिएकी गृहिणी ‘म’

    कोभिड–१९ ले बदलिएकी गृहिणी ‘म’

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 4.8K
    SHARES

    पढाइले ल्याव टेक्निसियन भए पनि परिस्थितिले समय सापेक्ष जागिर खाने समय मिलेन । बच्चा सानो, श्रीमानको आफ्नै पेशा, जम्मा तीन जनाको सानो परिवार हाम्रो । काठमाडौंको बसाई, जहाँ कहिं कतै बाहेक एउटा घरका व्यक्तिले अर्को घरकालाई चिन्ने चलन नै छैन भन्दा फरक नपर्ला । त्यहि भएर पनि होला सुविधा सम्पन्न राजधानी जहाँ गाउँको जस्तो छिमेकीसँगको पारिवारिक माहोल खासै बन्दैन पनि ।

    जागिर नपाउने भन्दा पनि बच्चाको कारण एउटाले कमाउने र अर्कोले घर सम्हाल्ने गर्दै आएका छौं हामीले । हुन त म आफैले आफैलाई एक उदाहरण पात्र मात्रै हुँ जस्तो लाग्छ । यस्तो समस्या शहरिया गृहिणीहरुका लागि खासै नौलो होइन ।



    छोरी विस्तारै बढ्दै छिन्। बल्ल ५ वर्षकी मात्र । स्कुल जान थालेको धेरै भएकै छैन । तर, उमेरसँगै पढाइ पनि बढाउँदै गएकी छोरीलाई अबको शैक्षिक सत्रमा नयाँ कक्षामा भर्ना गराएर पेशा अनुसारकाे स्वास्थ्य सेवा गर्ने साेच बनाएकी थिएँ ।



    तर, समयले मलाई साँच्चिकै गृहिणी नै बनाइदियो । हुनत चीनको वुहानबाट गत डिसेम्बरमा शुरु भई महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) ले मलाई मात्र नभई हजारौं महिलालाई असल गृहिणी बनाइदिएको छ ।

    तर, कोभिड–१९ ले मलाई असल गृहिणी मात्र बनाएको छैन, मेराे पेशा भन्दा फरक छोरीको असल शिक्षीका पनि बनाइदिएको छ ।

    लकडाउनको शुरु शुरुमा त के गर्ने, कसो गर्ने झैं लाग्थ्यो । घरको कामको व्यस्तता, अनलाईन कक्षामा छोरीलाई पढाउनु पर्ने व्यस्तताले समय त कट्दै थियो ।

    अहिलेको परिस्थितिमा बच्चाहरुलाई ठूलो मान्छे बनाउनु भन्दा पनि असल मान्छे बनाउनु जरुरी छ र सबै आमा बाबुको सोच पनि त्यहि नै हुन्छ होला । जसमा संस्कारले ठूलो भूमिका खेलेको हुन्छ । आमा बाबुले जे सिकायो बच्चा बच्चीले त्यहि सिक्ने हो । त्यसैले म पनि छोरीलाई सानो–सानो काम सिकाउने र पढाउने गरेर व्यस्त राख्न थाले ।

    तर, कमाएर म र छोरीलाई खुवाउने जिम्मेवारी बोकेका मेरो श्रीमानको काममा परेको असर, सानी छोरीलाई बाहिर जान हुँदैन, कसैलाई भेट्न हुँदैन, साथीभाई भन्दा टाढै बस्नुपर्छ भनेर त्यो कलिलो दिमाखमा घुसाउनु पर्ने कुराहरुले मलाई सधै चिन्तित नै बनाइ रहन्थ्यो ।

    सरकारले २०७६ साल चैत ११ गतेबाट नै लकडाउन गरेको थियो । असारको मध्यमा आएर केही खुकुलो बनाउँदा उपत्यकामै संक्रमितको संख्या बढ्न थालेको थियो । साउनमा लकडाउन नै खुलेपछि त झन अहिलेसम्म संक्रमितको संख्या बढिरहेकै छ ।

    हुन त भदौ ४ गतेदेखि उपत्यकामा निषेधाज्ञा छ । चिन्ता झन भन्दा झन बढ्दै गएको थियो । तर, आफूले आफूलाई बलियो बनाउँदै चिन्ता लिनु भन्दा समयानुसार आफूलाई बदल्नुपर्छ भन्ने सोच बनाएर अहिले भने समयानुसार परिवर्तन गराउने प्रयासमा छु । र, गर्दै पनि ।

    कहिले असल गृहिणी बन्छु त कहिले शिक्षीका…. । श्रीमान, छोरी र आफ्नो खानेकुरामा ध्यान दिनु, सरसफाइमा ध्यान दिंदै परिवारसँग समय बिताउँछु ।

    बच्चाका लागि आमा नै असल शिक्षिका हुन् । अहिलेको परिस्थितिमा बच्चाहरुलाई ठूलो मान्छे बनाउनु भन्दा पनि असल मान्छे बनाउनु जरुरी छ र सबै आमा बाबुको सोच पनि त्यहि नै हुन्छ होला । जसमा संस्कारले ठूलो भूमिका खेलेको हुन्छ । आमा बाबुले जे सिकायो बच्चा बच्चीले त्यहि सिक्ने हो । त्यसैले म पनि छोरीलाई सानो–सानो काम सिकाउने र पढाउने गरेर व्यस्त राख्न थालेकाे छु ।

    ‘खाली दिमाख सैतानको घर’ भनेझैं व्यस्त भइएन भने झन धेरै सोचाइहरु आउने र कोभिडले भन्दा पनि आत्मबल कमजोर भएर स्वास्थ्यमा असर पर्छ भन्ने सोचले पनि असर पार्दाे रहेछ । मलाई त यस्तो हुन्छ भने मेरी पाँच वर्षकी ति ‘काँचो माटो’लाई झन कस्तो असर पर्ला भन्ने सोचेर यो समयलाई खेर फाल्नु भन्दा केही न केही ज्ञानवर्दक कुराहरु सिकाउनु पर्छ भन्ने लाग्यो र त्यसैलाई निरन्तरता दिइरहेको पनि छु ।

    सोच्न थाले जस्तो परिस्थितिमा पनि हाँसेर जिउन सिक्नुपर्छ र सक्नुपर्छ । यसका लागि दिमागले मात्र सोचेर नहुने रहेछ । मनलाई नै परिवर्तन गर्नु पर्दछ भन्ने लाग्यो र मेरो ध्यान आध्यात्मिक तर्फ ढल्कन थाल्यो ।

    फेसबुक, टिकटक र युट्युव हेर्ने समयमा हिन्दू धार्मिक ग्रन्थ गीता पढ्न थालेकाे छु । त्यसपछि मेरो समय नै बदलियो । विहान चाँडै उठ्नु, नुहाई धुवाई गर्नु, पूजा सकेर योगा र ध्यान गर्नु, भजन सुन्नु, गीता पाठ गर्नु, रामायण, श्री कृष्ण चरित्र सुन्नु । यस्तो दिनचर्या बन्न थालेकाे छ ।

    जसले गर्दा अहिले कोभिडको डर हराउँदै गयो र मनमा धेरै आनन्द मिलेको आभाष हुन थालेको छ ।

    जीवन कसरी सहज तरिकाले जीउन सकिन्छ, आफ्नो काम र कर्तव्य के हो, फलको आश नगरी आफ्नो कर्म निभाउनु पर्दछ, अरुको चित्त दुःखाउने र अरुलाई अप्ठेरो पार्ने काम गर्नु हुँदैन, धैर्य गर्न सक्नुपर्छ तथा कर्तव्यबाट भाग्नु हुँदैन भन्ने पाठ सिक्दै सकारात्मक सोचाइका साथ अगाडि बढ्न यो महामारीले सिकाइरहेको छ । यस्ता ज्ञानका जिन्दगी सार्थकपूर्ण जिन्दगी बन्दो रहेछ भन्ने सोच पनि यहि बेला आइरहेको छ ।

    यो ६ महिनामा मैले असल गृहिणी मात्र नभई असल आमा, असल श्रीमती र एक असल शिक्षिका बन्ने कोशिष गरेकी छु । त्यसमा सफलता मिलेको पनि आभाष हुन थालेको छ र मनमा शान्ति पनि छाएको छ ।

    सबैले भन्ने सुनेकी छु, अहिले त समय नै समय छ केही काम हुँदैन । खायो सुत्यो । तर, अहिले मलाई समय नै नपुगेको जस्तो लाग्न थालेको छ । विहान सबेरै उठ्नु, घर सरसफाई गर्नु, पूजा पाठ गर्नु, योगा ध्यान गर्नु, समयमा नै ब्रेकफास्ट तयार गर्नु, घरको काम सकाउनु, छोरीलाई समय दिनु र उनलाई पढाउनु जस्ता कामहरुले समय नपुगेको जस्तो हुन्छ ।

    यति व्यस्तताका बाबजुद पनि समय निकालेर ज्ञानवर्दक कुराहरु पढ्नु र सिक्नु तथा सिकाउनु पनि त छ । मैले त समयको राम्रो सदुपयोग गरेकी छु, त्यसैले पनि भन्न मन लागिरहन्छ :– कोभिड–१९ ले बदलिएकी गृहिणी ‘म’ । साँच्चिकै बदलिएकै छु ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार