Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हुम्लामा आगलागीबाट ६० लाख बराबरको क्षति

हुम्ला । सर्केघाड गाउँपालिका–७ रोडिकोटको ठूलो गाउँमा आगलागी हुँदा ५९ लाख ५५ हजार ६० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । बुधबार साँझ ६ बजे स्थानीयवासी जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका छ वटा घर पूर्ण रुपमा र नौ वटा घर आंशिक रुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको सर्केघाड गाउँपालिका–७ का वडाध्यक्ष कृष्णप्रसाद जैशीले बताए ।

उनका अनुसार सर्केघाडस्थित सर्किदेउ प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले आगलागीबाट भएको क्षति विवरण सङ्कलन गरेको थिए । आगलागीबाट हरीभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला जैसीको घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले आज बिहान साढे २ बजे आगलागी नियन्त्रणमा लिएको थियो ।

यसैबीच जिल्ला दैवीप्रकोप उद्धार समितिले रोडिकोट आगलागीमा भएको क्षतिको विवरण प्रदेश र सङ्घीय सरकारलाई पठाएको छ । सर्किदेउ प्रहरी चौकी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोली स्थलगत रुपमा सङ्कलन गरिएको क्षतिको विवरण गृह मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए । आगलागीबाट घरबारविहीन भएर छाक टार्न समस्या भएका पीडितलाई राहत सामग्री लिएर प्रदेश सरकारको टोली घटनास्थलमा जाने तयारी गरेको बताइएको छ ।

आगलागी भएको खबर पाउने बित्तिकै प्रदेश सरकारले पीडित परिवारका लागि आवश्यक पर्ने राहत सामग्री लिएर एउटा टोलीलाई घटनास्थलतर्फ पठाउन लागेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077