Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • ७० कराेड काण्ड : के पूर्वमन्त्री बाँस्कोटाले पाउलान् क्लिन चिट ?

    ७० कराेड काण्ड : के पूर्वमन्त्री बाँस्कोटाले पाउलान् क्लिन चिट ?

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ । मिश्रले सात दिनभित्र हाजिर भई बयान नदिएमा कानुनी कारबाही गर्ने चेतावनी अख्तियारले दिएको छ । मिश्र भने हाल जापानमा छन् ।

    कोरोना संक्रमणको जोखिमका कारण बयान लिने र छानबिन गर्ने काममा सुस्तता आइरहेका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको विषयमा आयोगले मिश्रलाई छानबिनका लागि बोलाएको हो । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले सेक्युरिटी प्रेस खरिदका बारेमा आवश्यक छानबिन गरी अनुसन्धानलाई तीव्रता दिनका लागि मिश्रलाई बोलाइएको जानकारी दिए ।



    अडियो रेकर्ड गर्ने मिश्रलाई बोलायो अख्तियारले
    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्विस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाइ गरेको भन्ने विषयमा बुझ्नका लागि सूचना जारी गरेको अख्तियारले जनाएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदपछि प्राप्त हुने कमिसनको मोलमोलाइ गर्दाको अडियो रेकर्ड सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले ८ फागुन २०७६ मा पदबाट राजीनामा दिएका थिए । यसपछि बाँस्कोटाले काठमाडौं जिल्ला अदालतमा मिश्रका विरुद्ध गाली बेइज्जतीको मुद्दा हालेका छन् । बाँस्कोटाले अदालतमा हालेको मुद्दा हाल विचाराधीन अवस्थामा छ ।



    मिश्रले भने बाँस्कोटालाई भ्रष्टाचारमा कारबाहीको माग गर्दै अख्तियारमा निवेदन दिएका थिए । मिश्रको निवेदनपछि सो प्रकरणमा अख्तियारले बाँस्कोटामाथि छानबिन थालेको थियो । अनुसन्धान थालेको करिब ६ महिनापछि अख्तियारले अडियो रेकर्ड गर्ने मिश्रसँग बयान लिनका लागि सात दिने सूचना प्रकाशित गरेका हो ।

    पूर्वमन्त्री बाँस्कोटाले पाउलान् क्लिन चिट ?
    १५ महिनाअघि तत्कालीन मन्त्री बाँस्कोटाको कार्यकक्षमै रेकर्ड भएको भनिएको अडियो गत फागुनमा सार्वजनिक भएको थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले खरिद प्रक्रियामा ५४ देखि ५५ करोड बनाउन आग्रह गरेको रेकर्ड छ ।

    तत्कालीन अवस्थामा स्विस कम्पनीसँग सम्झौता गर्ने भनिए पनि हाल सो कम्पनी सेक्युरिटी खरिद प्रकरणमा सामेल रहेको छैन । यस आधारमा बाँस्कोटाले अख्तियारबाट क्लिन चिट पाउने सम्भावना देखिएको छ । मिश्रका धेरै गतिविधि शंकास्पद र संदिग्ध प्रकृतिको भएकाले बाँस्कोटालाई क्लिन चिट दिने धेरै आधारहरू तय हुन सक्ने देखिएको अख्तियार उच्च स्रोतको भनाइ छ । रेकर्ड गरिएको भनिएको सिडीको आधिकारिताका बारेमा मिश्रले पुष्टि गर्न सक्ने आधार न्यून हुँदै गएकाले पनि बाँस्कोटालाई सहज हुँदै गएको बताइएको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया विवादित बनेपछि संसद्को लेखा समितिले पनि अनुसन्धान गरिरहेको थियो । विजय मिश्र आफँै उपस्थित भएर सेक्युरिटी प्रिन्टिङ प्रेस महँगो भएको भन्दै आफ्नो राय दिएका थिए । मिश्रले १२ अर्ब रुपैयाँ बढी लागतमा कुनै पनि कम्पनीलाई सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्न दिन नहुने सुझाव दिएका थिए । मिश्रको सोझो दाउ आफूमार्फत सेक्युरिटी प्रिन्टिङ प्रेस नेपालमा भिœयाउने थियो ।

    सुरुमा स्विस कम्पनीलाई प्रेस खरिद दिने भनिए पनि बाँस्कोटाले इन्कार गरेपछि मिश्रले लेखा समितिमा सेक्युरिटी प्रिन्टिङ प्रेस महँगो भएको भन्दै उजुरी दिए । संसदीय समितिले छानबिन गरिरहेको थियो । उता २०७५ फागुनमा सञ्चारमन्त्री बाँस्कोटा पेरिस पुगेर फ्रान्सको कम्पनीसँग प्रेस स्थापना गर्ने एमओयूमा हस्ताक्षर गरे पनि लेखासमितिले प्रक्रिया अगाडि नबढाउन निर्देशन दियो । त्यही बीचमा प्रेस स्थापना गर्न जर्मन कम्पनीको पनि प्रस्ताव आएको थियो । तर, मिश्रले डेढ वर्षअघि गरेको अडियो रेकर्ड सार्वजनिक गरेपछि खरिद प्रक्रियामा ब्रेक लाग्यो ।

    बजार मूल्यभन्दा बढीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न लागेको भन्दै राय दिएका उनैले केही दिनमै यसअघि स्विस कम्पनीसँग खरिद प्रक्रिया अगाडि बढाउने विषयमा कमिसनको अडियो रेकर्ड गराएका थिए ।
    राजधानी दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार