Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नेकपामा पुरानै रडाको: राष्ट्रिय सभामा लगिएलान् गौतम ?

    नेकपामा पुरानै रडाको: राष्ट्रिय सभामा लगिएलान् गौतम ?

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 3.6K
    SHARES

    काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको कुराकानीमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव गरे । २०७४ को प्रतिनिधिसभा चुनावमा पराजित भएयता गौतमको चर्चा कहिले आफैं र कहिले पार्टीका अरू नेताहरूबाट प्रस्तावित सांसदका रूपमा हुँदै आएको छ । गौतमलाई सांसद बनाउनका लागि भएको यो २२ औं पटकको चर्चा हो ।

    त्यसअघि पनि गौतमलाई ओलीले सोही प्रस्ताव गरेका थिए तर गौतमबाट जवाफ पाइसकेका थिएनन् । सोमबार भने गौतमले स्पष्टै रूपमा अहिले प्रतिनिधिसभाको चुनाव हुने सम्भावना नरहेकाले आफूलाई राष्ट्रिय सभा सदस्य बनाउने फागुन १४ को सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न प्रस्ताव गरे ।



    ‘केपीजीबाट सोमबार र दुई दिनअघि पनि प्रतिनिधिसभामा डोल्पाबाट चुनाव उठ्न प्रस्ताव आएको थियो, मैले स्वीकार गरिनँ,’ गौतमले मंगलबार कान्तिपुरसँग भने, ‘कोरोनाकालभरि चुनाव हुँदैन, कोरोना सकिने बेलामा स्थानीय तहको चुनाव सुरु हुन्छ । त्यसपछि आमचुनाव हुन्छ । किन जान पर्‍यो ? मन्त्री बनाउनुहुन्छ, म एकदम राम्रोसँग तपाईंलाई लोकप्रिय बनाउँछु । बनाउनुहुन्न भने पनि राष्ट्रिय सभामा आफ्नो भूमिकामा रहन्छु भनेको छु ।’



    उनका अनुसार ओलीले गौतमको यो प्रस्तावको जवाफ दिइसकेका छैनन् तर गौतम भने फागुन १४ को निर्णय कार्यान्वयन हुनुपर्छ भन्ने अडानमा छन् । उनको यो अडानलाई पार्टी सचिवालयका बहुमत सदस्यले सदर गर्ने देखिन्छ ।

    गत शनिबार प्रधानमन्त्री ओलीले प्राइम टेलिभिजनको अन्तर्वार्तामा गौतम राष्ट्रिय सभामा जाने ‘च्याप्टर क्लोज’ भइसकेको बताएका थिए । उनले आफ्ना निकटस्थहरूसँग पनि अर्थमन्त्री युवराज खतिवडालाई दोहोर्‍याउने जानकारी गराएका थिए भने अध्यक्ष पुष्पकमल दाहालसँग भएको भेटमा समेत यही प्रस्ताव गरेका थिए । ओलीको भनाइअनुसार गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने फागुन १४ को निर्णय वैशाख २० को निर्णयले प्रतिस्थापन गरिसकेको छ । तर अध्यक्ष दाहाल र स्वयं गौतमसहित अधिकांश सदस्य फागुन १४ को निर्णय यथावत् रहेको र त्यसलाई ओलीले मान्नैपर्ने पक्षमा छन् ।

    ‘अहिले मलाई राष्ट्रिय सभा सदस्य बनाउनका लागि पार्टीले फेरि निर्णय गर्नैपर्दैन, यदि त्यो निर्णय खारेज गर्ने हो भने पार्टीले अर्को निर्णय गर्नुपर्छ,’ गौतमले भने, ‘फागुन १४ गतेको बैठकले गरेको निर्णय आजसम्म के कारणले कार्यान्वयन गर्नुभएन भनेर बैठकले प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्न सक्छ, त्यसैले उहाँले तुरुन्तै राष्ट्रिय सभामा मनोनयनका लागि सिफारिस गर्नुपर्छ ।’

    सचिवालयका अरू सदस्यहरूले पनि गौतमलाई राष्ट्रिय सभामा लैजाने पुरानो निर्णय यथावत् रहेको र गौतमले नै इच्छा देखाउँदासम्म उनलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने मत राखेका छन् । आउँदो सचिवालय बैठकमा पनि यसरी नै प्रस्तुत हुने उनीहरूको तयारी छ । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार