काठमाडौं। केही महिनायता छिमेकीहरूसँग बिग्रिरहेको सम्बन्ध सुधार्न भारतले कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच खोप कूटनीतिलाई अघि बढाएको छ । एक वर्षयता भारतको नेपाललगायत श्रीलंका, माल्दिभ्स र बंगलादेशका साथै भुटानसँगको सम्बन्ध पनि सुमधुर बन्न सकेको छैन । चीनसँगको सम्बन्ध त इतिहासकै नाजुक अवस्थामा पुगेको छ ।
जुन दोस्रो साता गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा २० भन्दा बढी भारतीय सैनिकको ज्यान गएपछि दुई छिमेकीको सम्बन्ध निकै तिक्ततापूर्ण छ । पाकिस्तान त उसको स्थायी शत्रुका रूपमा छँदै छ ।
यस्तो पृष्ठभूमिमा भारतले निकट छिमेकीहरूसँगको सम्बन्ध सुधार्न आर्थिक एवं वित्तीय सहयोगसँगै खोप कूटनीतिलाई अघि सारेको हो ।
भारतले हालै मात्र माल्दिभ्स र बंगलादेशलगायत मुलुकलाई कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको प्रभाव कम गर्न ठूलो परिमाणमा आर्थिक र वित्तीय सहयोगको घोषणा गरेको छ । यसका साथै आफूले उत्पादन गर्ने कोभिड–१९ विरुद्धको खोपको आपूर्तिका लागि यी मुलुकका साथै भुटानलाई पहिलो प्राथमिकता राख्ने प्रतिबद्धतासमेत जनाएको छ ।
खोपको अनुसन्धान अन्तिम चरणमा पुगेको र विश्वकै ठूलो उत्पादक भएकाले पनि भारतले निकट छिमेकीहरूसँगको सम्बन्ध सुधार्न खोप कूटनीति अख्तियार गरेको सहजै बुझ्न सकिन्छ । हालै बंगलादेश भ्रमणका गएका भारतीय विदेश सचिव हर्षबर्धन शृगंलाले त भारतले आफूकहाँ उत्पादन हुने खोपको आपूर्तिमा बंगलादेश प्राथमिकतामा रहेको सार्वजनिक रूपमै बताउनुले पनि त्यसको पुष्टि हुन्छ । ‘भारतले विकास गर्ने खोपमा बंगलादेश सधैं नै हाम्रो प्राथमिकतामा पर्छ,’ शृगंलालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले लेखेका छन् ।
भारतले अघि बढाएको खोप कूटनीतिलाई अन्तर्राष्ट्रिय मामलाका जानकारहरू छिमेकीहरूसँगको सम्बन्ध सुधारमा सकारात्मक पहलका रूपमा लिन्छन् । दिल्लीस्थित थिंक ट्यांक ओआरएफकी सिनियर फेलो राजेश्वरी राजगोपालनले कोभिड–१९ को महामारीका बेला भारतको पछिल्लो प्रयास जनस्तरको सम्बन्ध प्रगाढ बनाउने नीतिअन्तर्गत भएको बताउँछिन् । ‘विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै जनस्तरको सम्बन्ध विकास गरेर छिमेकीहरूसँगको दूरी कम गर्न यसले अहम् भूमिका खेल्छ,’ उनले भनिन् ।
हाल भारतका आधा दर्जन कम्पनीले कोभिड–१९ विरुद्धको खोपको अनुसन्धान गरिरहेका छन् । तीमध्ये तीनवटा कम्पनीले त मानव परीक्षण गरिरहेका छन् । भारत सरकारले अगस्ट १५ भित्रै खोप ल्याइसक्ने घोषणा गरेको थियो । तर उक्त अवधिभित्र वैज्ञानिक मापदण्ड पूरा गर्ने विषयमा विज्ञ र वरिष्ठ चिकित्सकहरूले नै प्रश्न उठाएपछि सरकार पछि हटेको थियो । औषधि तथा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सामग्रीमा भारत विश्वकै प्रमुख उत्पादक मुलुकमध्येमा पर्छ । सबैभन्दा धेरै औषधि उत्पादक भारतमा विश्वकै ६० प्रतिशत खोप उत्पादन हुने गरेको छ ।
भारतको खोप कूटनीतिलाई भारतीय उपमहाद्वीपमा पछिल्लो समय बढ्दो चीनको प्रभाव रोक्ने प्रयासका रूपमा पनि हेरिएको छ । चीनले आफ्नो देशमा विकास गरेको खोपको मानव परीक्षणका लागि राखेको प्रस्तावलाई बंगलादेशले अस्वीकार गरिदिएको थियो । त्यसको केही दिनमै भारतीय विदेश सचिवले खोप दिने प्रतिबद्धता जनाउनुलाई पनि निकै अर्थपूर्ण ठानिएको छ ।
राजागोपालन पनि भारतका पछिल्ला कदम केही हदसम्म चीनको प्रभाव रोक्ने नीतिअन्तर्गत चालिएका स्विकार्छन् । तर भारतले विगतमा पनि प्राकृतिक विपद्का बेला छिमेकहरूलाई सहयोग गरेको उनको भनाइ छ । ‘चीनको प्रभाव रोक्न नीति पनि हो । तर भारतले विगतमा पनि आफ्नो गच्छेले भ्याएसम्म प्राकृतिक विपद्का बेला आफ्ना छिमेकी मात्र नभएर अन्य मुलुकलाई पनि मद्दत गरेको तथ्य पनि बिर्सन हुँदैन,’ राजागोपालनले भने । कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले खबर लेखेका छन् ।
Leave a Reply