Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सरकारी आदेशको धज्जी उडाउँदै प्रहरी, आफू अनुकुल निषेधाज्ञाको व्याख्या

    सरकारी आदेशको धज्जी उडाउँदै प्रहरी, आफू अनुकुल निषेधाज्ञाको व्याख्या

    कुमार भण्डारी
  • शनिबार, ६ भाद्र २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका बेला सञ्चारकर्मी भन्दा पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले निभाएको भूमिका स्वागतयोग्य छ ।

    आफ्नो स्वास्थ्यको ख्याल नगरी फ्रण्टलाईन खटिएका प्रहरीको भूमिकाप्रति शंका उपशंका गर्ने ठाउँ नै छैन । सरकारले कोरोनाको संक्रमण रोक्नका लागि भन्दै २०७६ साल चैत ११ गतेबाट गरेको लकडाउनमा सुरक्षा निकाएले निभाएको भूमिकाले प्रशंसामात्र पाएन कोरोना संक्रिमितको संख्या घटाउन पनि मद्दत पुग्यो ।



    तर, त्यहि सुरक्षाकर्मी (नेपाल प्रहरी) का कारण यतिबेला कोरोना संक्रमितको संख्या बढ्ने खतरा पैदा भएको छ । यसो भन्दै गर्दा यस्तो महामारीको बेला प्रहरीलाई गालि गर्नु उचित होइन भन्ने तर्क उठ्न सक्छ । तर, प्रहरीले अहिले निभाएको भूमिकाले यसलाई पुष्टि गरेको छ ।



    काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गत बुधबार राती १२ बजेबाट उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय गर्यो ।
    सोही अनुरुप प्रहरीलाई पनि परिचालन गरियो । तर, प्रहरीले जिल्ला प्रशासनले गरेको निर्णय भन्दा फरक काम गर्दै आइहेकोप्रति प्रशासन आफै मौन छ ।

    प्रहरीको पहिलो गल्ती
    उपत्यकाका तीनैवटा जिल्लाले बुधबार जारी गरेको आदेशको ६ नम्बर बुँदामा सवारी साधन सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तर्गत पर्ने औषधी, खाद्यबस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने विरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी जस्ता अति आवश्यक सेवा बाहेकका साधन सञ्चालन गर्न रोक लगाउने उल्लेख छ ।

    त्यससँगसँगै १३ नम्बर बुँदामा बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न व्यवस्था मिलाउनुपर्नेछ । सो सम्भव नभएमा नेपाल राष्ट्र बैंकले तोकेको संख्यामा सीमित रही आवश्यक सेवा प्रवाह गर्न सक्नेछन् भन्ने उल्लेख छ ।

    त्यसैगरी बुँदा नम्बर ५ मा भने ‘कोभिड–१९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर, नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा विहान ९ः०० देखि १०ः३० र बेलुकी ३ः०० देखि ५ः३० बजेसम्म आवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न निषेध गरिने छ ।’ भन्ने उल्लेख छ ।

    यसले के जनाउँछ भने बैंक तथा वित्तीय संस्था, इन्टरनेट सेवा प्रदायक संस्थाहरुका सिमित कर्मचारीहरुलाई सवारीसाधन चलाउन उक्त समयमा बन्देज नलगाइनु पर्ने हो । तर, प्रहरीले पहिलो दिन अर्थात विहिबार नै बैंक तथा बित्तीय संस्थाका कर्मचारी चढेको सवारीसाधन होल्ड गर्दा उक्त दिन बैंकहरु नै बन्द भए ।

    प्रहरीको दोस्रो गल्ती
    जिल्ला प्रशासनले जारी गरेको सूचनाको बुँदा नं. ५ मा खाद्यबस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध बोकेका सवारी साधनहरुलाई हिड्न दिने उल्लेख छ । जसअनुसार औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल दूध ढुवानी तथा बिक्रि, विद्युत र दूरसञ्चार सेवा, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाईन सेवालाई यो बेलामा रोकतोक हुने छैन् ।

    जिल्ला प्रसाशन कार्यालय काठमाडौंले उपत्यकामा सञ्चालन हुने किराना (खाद्यन्न), तरकारी र मासुका थोक तथा खुद्रा पसलहरुका लागि निषेधाज्ञाले असर नगर्ने जनाएको छ ।

    यस विषयमा अनलाइन नेपालसँग कुरा गर्दै साहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले खाद्यान्न पसल सञ्चालन गर्न प्रशासनले कुनै समय अवधि नतोकिएको बताए ।

    उनले भने–‘निषेधाज्ञाको समयमा खाद्यान्न पसलका लागि हामीले कुनै पनि समय तोकेका छैनौं । तर, स्थानीय निकायले भीड नियन्त्रण गर्न अन्य कुनै उपाय अपनाएको हुन सक्छ ।’

    तर, प्रहरीले भने विहान ७ बजेबाट नै पसल बन्द गर्न व्यापारीहरुलाई निर्देशन दिंदै आएको छ । साना खाद्यान्न पसलहरुमा कसरी कारोबार भइरहेको छ, सामाजिक दूरी कामय भएको छ/छैन, भिडभाड छ/छैन, व्यपारी तथा उपभोक्ताले मास्को प्रयोग गरेका छन् वा छैनन् भन्ने बारेमा जानकारी लिनु पर्नेमा प्रहरीले दिनभर पसल बन्द गराउन निर्देशन दिएर एकातिर निश्चित समयमा भिड जम्मा गर्ने काम गरेको छ भने अर्कोतिर आफूलाई सहज हुने काम गरेको छ ।

    कतै दिनभर पसल बन्द हुँदा ड्युटी गर्न सजिलो हुने हुँदा प्रहरीले यस्तो गरेको त होइन ? भन्ने प्रश्न पनि उठेको छ । नत्र सिमित समय खाद्यान्न पसल खुल्दा भिड त बढ्ने निश्चत नै छ ।

    उपत्यकाको सुरक्षा हेर्ने जिम्मेवारी पाएका महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले किन यस्तो निर्देशन दिएका हुन् ? यस विषयमा मेट्रोका प्रवक्ता एसएसपी सुशील कुमार यादवसँग कुरा गर्दा मेट्रोबाट दिउसो पसल बन्द गर्न निर्देशन नभएको तर, जिल्ला प्रशासनको आदेश अनुसार अगाडि बढ्न निर्देशन दिएको बताए ।

    यद्यपी यसअघि लकडाउनका बेला पनि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेको भन्दै दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार