Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सेनाका लागि ब्यारेकभित्रै आइसोलेसन निर्माण शुरू

    सेनाका लागि ब्यारेकभित्रै आइसोलेसन निर्माण शुरू

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ ।

    नेपाली सेनाका २८४ जनामा कोभिड– १९ संक्रमण देखिएकामा हालसम्म ९४ जना निको भई ब्यारेक फर्किसकेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । कोभिड–१९ बाट संक्रमित सेनाका १९० सकल दर्जा अहिले मुलुकका विभिन्न अस्पतालमा उपचारमा रहेका छन् । धनुषामा गत जेठ १३ गते पहिलो पटक सेनाका दुई जनामा कोभिड–१९ संक्रमण देखिएको थियो ।



    पछिल्लो समय नेपालगञ्जस्थित तालीम केन्द्रमा एकै पटक २५ जनामा उक्त संक्रमण देखिएको प्रवक्ता पौडेलले जानकारी दिए । उनले भने, “मुलुकमा कोभिड–१९ को संक्रमण बढ्न गई आइसोलेशनको अभाव हुने अवस्था देखेर सैनिक जनशक्तिका लागि ब्यारेकभित्रै आइसोलेसन बनाएर कार्यान्वयनमा ल्याउने कार्यको शुरुआत भइसकेको छ ।”



    केही सैनिक जनशक्ति कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गर्नेलगायत कार्यमा अग्रपङ्क्तिमा खटिँदै आएका छन् । सेनाले खास गरी दैनिक गस्ती, क्वारेन्टिन, आइसोलेशन, होल्डिङ एरिया सुरक्षा, उडान समन्वय, हेल्थ डेस्क, राहत वितरण, शव व्यवस्थापन र ठूलो सङ्ख्यामा मेडिकल जनशक्ति खटाएको छ ।

    कोभिड–१९ को संक्रमणबाट मृत्यु भएकामध्ये सेनाको व्यवस्थापनमा १२६ जनाको अन्त्येष्टि भइसकेको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सेनाका २० हजार १९५ जनशक्ति खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त जनशक्तिमध्ये करीब आठ हजार अहिले अग्रमोर्चामा रहेर काम गरिरहेका छन् ।

    मुलुकमा कोभिड–१९ संक्रमण बढेसँगै पछिल्लो सात दिनमा १९ जनाको मृत्यु भएको छ । नेपालमा करीब ३० हजार सङ्क्रमितमध्ये करीब १८ हजार निको भएर घर फर्केका छन् भने १२ हजार सक्रिय सङ्क्रमित रहेको र तिनमा केही घरमै आइसोलेशनमा बसेका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार