Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सुन तस्करीमा ७ करोड हुन्डी गर्ने अग्रवाललाई प्रहरीले नै भगाएको आशंका

    सुन तस्करीमा ७ करोड हुन्डी गर्ने अग्रवाललाई प्रहरीले नै भगाएको आशंका

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । महानगरिय प्रहरी परिसर काठमाडौंले जोगाएका ठूलो रकमको हुन्डी कारोबार गर्ने विकास अग्रवालको कनेक्सन नक्कली नोटदेखि सुन तस्करी गर्नेहरुसँग पनि रहेको खुलेको छ ।

    २०७७ असार ७ गते न्यूरोडको समृद्ध बचत तथा ऋण सहकारी संस्थाबाट पैसा निकालेर लाने क्रममा हुन्डी कारोबारी विकास अग्रवालको १० लाख रकम घुमुवा प्रहरी हवल्दार धिरेन्द्र विष्ट र जवान विक्रमकुमार चन्दले लुटेको आरोपमा प्रहरीले उनीहरुबिरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ ।



    साथै प्रहरीलाई सूचना दिने सरकारीका पूर्व कर्मचारी सौरभ अधिकारी र हाल कार्यरत रेणु श्रेष्ठबिरुद्ध पनि डकैती मुद्दा दायर गरी अदालतको आदेशमा जेल नै चलान भए । तर, प्रहरीले हुन्डी कारोबारी विकास अग्रवाललाई भने उन्मुक्ति मात्र दिएन, उल्टै जाहेरवाला बनाई उनको निवेदनको आधारमा प्रहरी र सहकारीका कर्मचारीलाई डकैती मुद्दा दायर गर्‍यो ।



    प्रहरीले निवेदकका रुपमा उभ्याएका विकास अग्रवाल सुनदेखि नक्कली नोटको कारोबार गर्ने भारतीय नागरिक निलेश सखिया र नेपालको बाराका इल्ताफ अन्सारीको सुनको कारोबारमा हुन्डीको रकम भित्र्याउने नाइके भएको अनुसन्धानका क्रममा खुलेको छ । निलेशले भारतबाट विकास अग्रवालको नाममा ७ करोड रुपैयाँ सम्म हुन्डीको रकम पठाएको प्रहरी अनुसन्धानमा खुलेको स्रोतको दाबी छ ।

    हुन्डी कारोबार गर्ने विकास अग्रवालको नाममा निलेशले ७ करोड पठाएको अनुसन्धानमा देखिएपछि प्रहरीकै सूचनाका आधारमा उनी फरार भएको स्रोत बताउँछ ।

    स्रोतका अनुसार जनसेवा बृत्तका असई सूर्य केसी, डीएसपी सुनिलजंग शाह र प्रहरी परिसरका डीएसपी देवी पौडेलसँग उनको कनेक्सन देखिएको छ। स्रोतका अनुसार डीएसपी देवी पौडेलको विश्वाशमा परेर परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले पनि अग्रवालको बारेमा कुनै पनि कुरा बुझ्न खोजेनन्।

    समृद्ध बचत सहकारीबाट हुन्डीको रकम निकाल्ने क्रममा १० लाख लुटपाट गरेको आरोपमा  प्रहरीलाई मुद्दा चलाउने परिसरले बिबादास्पद हुन्डी कारोबारी विकास अग्रवालबाट घुस खाएर उनलाई उन्मुक्ति दिएको आरोप लागेको छ।

    तर, २०७७ असार १३ मा काठमाडौं प्रहरीले कमलपोखरी चोकबाट १५ किलो नक्कली सुन बरामदपछि इल्ताफ अन्सारी र निलेश सखिया पक्राउ परे ।

    उनीहरुको छानबिन गर्ने क्रममा निलेशले विकास अग्रवालको नाममा हुन्डीमार्फत् ७ करोडसम्म रकम पठाएको खुलेको थियो ।

    प्रहरीले आफ्नै सिपाही हवल्दारदेखि सूचना दिने दुई किशोर/किशोरीलाई डकैती मुद्दामा फसाउन निवेदक बनाएका विकास अग्रवालको नाममा सुन तस्करीका लागि हुन्डीको रकम आएको खुलेपछि उनलाई रातारात भगाइएको छ ।

    सहकारी प्रकरणमा जोगाउने क्रममा विकास अग्रवालबाट ठूलो रकम घुस लिएर निरीह प्रहरी र नागरिकलाई डकैती मुद्दा चलाइएको खुल्ने त्रासले उनलाई रातारात भगाइएको आशंका गरिएको छ । अहिले प्रहरीले उनै अग्रवाललाई फरार भन्न थालेको छ।

    सहकारीबाट हुन्डीको रकम निकालेर लाने क्रममा प्रहरीले १० लाख लुटेको भनेर जाहेरी दिने अग्रवाललाई जोगाउन को को लागेका थिए त ? प्रहरीसँग सेटिङ मिलेपछि हुन्डी कारोबारी अग्रवाललाई नै निवेदक बनाइयो ।प्रहरी र नागरिकलाई डकैती मुद्दा दायर गरिएको छ ।

    तस्करीको नक्कली सुनको बारेमा अनुुसन्धान गर्दै जाँदा विकास अग्रवालको नाममा भारतबाट संजय पटेल र निलेश सखियाले ७ करोड रकम पठाएको खुलेपछि प्रहरी हाकिमहरुको घुस प्रकरण उजागर हुने देखेर रातारात अग्रवाललाई भगाइएको स्रोत बताउँछ ।

    भारतीय नक्कली नोटदेखि सुन तस्करीमा मुछिएका इल्ताफ अन्सारीले सुनमा जलप लगाउने काम भारतीय नागरिक संजय पटेलले गरेको आरोप लगाएका छन् । विकास अग्रवालमार्फत् सञ्जय पटेल र निलेश सखियाले हुन्डीमार्फत् आएको पैसा प्राप्त गर्ने गरेका थिए ।

    हुन्डीको कारोबार भने विकास अग्रवालले गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । तर उनको नाममा हुन्डीको रकम आउने गरेको खुलेपछि उनी भागेर भारतमा पुगेका छन् । निलेशले हुन्डीमार्फत् पठाएको रकम अग्रवालले सञ्जयलाई दिने गरेका थिए । हुन्डीबाट आएको पैसाले चाँदीमा सुनको जलप लगाउने गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार