काठमाडौं । टेलिभिजन कार्यक्रम ‘ऐना’ को लोगो सार्वजनिक गरिएकाे छ । दी होराइजन मल्टिमिडिया प्रालीले निर्माण गर्ने २६ इपिसोडको कार्यक्रम ‘ऐना’काे ललितपुरमा पत्रकार सम्मेलन गरी लोगो सार्वजनिकसँगै कार्यक्रमका प्रायोजक र ‘ऐना’ टिमबारे जानकारी दिइएको हो । ‘ऐना’ सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण हुने एउटा ‘टेलिभिजन शो’ हो ।
कार्यक्रम ‘ऐना’ कान्तिपुर टेलिभिजनबाट २०७७ साल कात्तिक पहिलो सातादेखि हरेक हप्ता एक घण्टा प्रसारण हुनेछ । कार्यक्रम ‘ऐना’का प्रोजेक्ट हेड राधाकृष्ण धितालले ऐना विशुद्ध सामाजिक मुद्दामा मानवीय पक्षलाई प्राथमिकतामा राखेर निर्माण हुने बताए ।
देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन-अनुसन्धान, घटना र पात्रहरुको मिहीन अवलोक, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषयमाथिको सम्पूर्ण प्याकेजकारुपमा कार्यक्रम ‘ऐना’ तयार हुनेछ ।
यस्तै, निर्देशक अमनप्रताप अधिकारीले नेपाली समाजमा मानिसका अथाह दुःख र पीडा छन् ती घटनाका रुपमा त आउँछन् तर किन यस्तो भइरहेको छ भन्ने खोजीमा कार्यक्रम निर्माण गर्न लागिएको बताए । कार्यक्रमका प्रोड्युसर जनक पौड्यालले सामाजिक र मानवीय सवालहरु जसले व्यक्ति, परिवार, समुदाय वा राष्ट्रलाई कस्तो असर पारिरहेको छ भन्ने यथार्थ चित्र प्रस्तुत गर्नु नै कार्यक्रम ‘ऐना’को उद्देश्य भएको बताए ।
Leave a Reply