सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा गम्भीर घाइते भएका पाँच जनालाई अस्पताल ल्याइएको छ भने पाँच जनाको शव निकालिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। मृतकमध्ये दुई महिला, दुई पुरुष र एक बालक रहेको छ ।
पहिरोमा परि गम्भिर घाइते भएका पाँच जनालाई सेनाको टोलीले हेलिकप्टरबाट उद्धार गरी अस्पताल ल्याएको हो । घाइतेहरूलाई चौतारास्थित जिल्ला अस्पताल ल्याएर उपचार गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
घाइतेमध्ये रुपक दोङ, पाशाङ दोङ, केवरिङ दोङ र जुनु दोङको सदरमुकामको चौतारा अस्पतालमा उपचार भइरहेको छ। प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा चढेर आएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको थियो। सदरमुकाम ओर्लेका सभामुख सापकोटाले उद्धारका लागि त्यहाँबाट चार नेपाली सेना चढाएर हेलिकप्टर घटनास्थल पठाएका थिए।
गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार पहिरोबाट १५ जना बाहिर निस्केकामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ । उनका अनुसार १३ घर पुरिएकोमा पाँच घरका स्थानीय सम्पर्कविहीन छन् ।
जुगल गाउँपालिका–२ गोल्चे लिदीमा शुक्रबार बिहान साढे ६ बजेतिर बस्तीमाथिबाट पहिरो खसेको थियो। पहिरोमा ३५ जना हराइरहेको अनुमान गरिएको छ ।
Leave a Reply