प्रधानमन्त्रीज्यू, राममन्दिर होइन अस्पताल बनाऔं::Best Online News Portal of Nepal

प्रधानमन्त्रीज्यू, राममन्दिर होइन अस्पताल बनाऔं

प्रधानमन्त्रीज्यू, राममन्दिर होइन अस्पताल बनाऔं

प्रदिप घिमिरे ‘अमूल्य’
  • बिहिबार, साउन २९ २०७७

  • 12.4K
    SHARES

  • प्रधानमन्त्रीज्यू, राममन्दिर होइन अस्पताल बनाऔं

    सिङ्गो विश्व कोरोनाको कहरले आक्रान्त भइरहेको विद्यमान अवस्थामा नेपाल पनि कोरोना भाइरसको महामारीबाट चोखो रहन सकेन । विश्वभरीमा कोरोना संक्रमितको संख्या दुई करोड नाघिसकेको छ भने मृत्यु हुनेको संख्या झण्डै साढे ७ लाख पुगिसकेको छ ।

    नेपालको कुरा गर्ने हो भने हालसम्म ९१ जनाले कोरोना संक्रमणकै कारण मृत्यूवरण गरिसेको अवस्था छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा चार लाख ७३ हजार एक सय ७९ व्यक्तिको पीसीआर परीक्षण गर्दा २४ हजार चार सय ३२ जनामा कोरोना संक्रमण देखिसकेको छ भने निको हुनेको संख्या १६ हजार सात सय २८ पुगेको छ ।

    यसरी देश महामारीको समस्याबाट गुज्रिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले राममन्दिर बनाउनु भन्ने आदेश भएको सुनें, यो खबर पत्र पत्रिकाका र युबटुवका हेडलाइन बनेर आएको देख्दा म भने खुसी हुन सकिन ।

    यतिबेला सिङ्गो विश्व कोरोनाको महामारीमा घम्साघम्सी गरिरहेको अवस्था छ । हामी पनि यही लडाइैंको मैदानमा छौं ।
    प्रधामन्त्रीज्यू, देश चुर्लुम्बै डुबिसक्नलाग्यो, ४० प्रतिशत औद्योगिक मजदुरहरु उद्योग क्षेत्रबाट पलाएन भइसके । साना– साना व्यापारीहरु पनि विस्थापित भइसकेका छन् ।

    सर्वसाधारण जनताको रोजी रोटी गुमिसकेको छ । हजारौं हजार मानिस सडकमा आइसके । कोरोनाको कहरले लकडाउन भएदेखी १५०० भन्दा बढी व्यक्तिले आत्महत्या गरिसकेका छन् । यो अत्यन्तै दुःखद खबर हो हामी नेपालीहरुको लागि ।

    विदेशबाट ल्याइएका मानिसहरुलाई पनि नेपाल सरकारले उचित प्रबन्ध गर्न सकेको छैन । कोरोनाकै कारण समुदायमा सामाजिक तिरस्कार बढ्दो छ । केही दिन अघि मात्र कोरोना संक्रमणकै कारण सामाजिक एवम् पारिवारिक तिरस्कारकाले जनकपुरमा एक व्यक्तिले आत्महत्या गरे । यतिबेला समुदाय स्तरमा कोरोना भाइरस पुगिसकेको छ ।

    सरकारका क्रियाकलाप हेर्दा कतै केन्द्रिय सरकार कोरोनाको दायराबाट भाग्दै त छैन भन्ने प्रश्न उठाएको छ । नेपाल सरकार जनतासँग प्रत्यक्ष जोडिन सकिराखेको देखिँदैन । काठमाडौंमा मात्र हेर्ने हो भने पनि ५÷६ सय आइसीयु र ३÷४ सय भेन्टिलेटर प्रयाप्त छैन ।

    प्रधानमन्त्रीज्यू, हामीले नेता बनाउनु अगाडी उसको योग्यता के हो ? भन्ने बुझ्नपर्ने रहेछ । कतै हामी विदेशी इसारामा चल्ने भएकोले यो अवस्था श्रृजना भएको त होइन ? शब्दजालमा रमाएर केही हुने वाला छैन । समय सुहाउँदो र माटो सुहाउँदो कार्य गर्नुपर्दछ । नेताहरुको शब्द मिठो होला तर, आम सर्वसाधारण जनताको घरदैलोमा पुगेर जनताको समस्यालाइ सम्बोधन गर्न सरकार चुकेकै हो । यति त ढुक्कसँग भन्ने अवस्था छ ।

    आजको एकाइसौं शताब्दीमा जनता अडियो होइन भिडियोलाई मात्र विश्वास गर्न थालिसकेका छन् । त्यसैले मिठा मिठा भाषण होइन, काम गरेर देखाउनुपर्दछ । कोरोनाको कहरले चार÷चार महिना लकडाउन हुँदा, हुँदा खाने वर्गहरुको लागि सरकारले उचित प्रकारको राहतको प्याकेज ल्याउन सकेन ।

    दैनिक ज्याला मजदुरी गरेर चुलो बाल्नेहरुको चुलो निभिसकेको छ । कयौं मजदुरहरु विस्थापित भैसकेका छन् । भोट माग्ने बेलामा तिनै गरीब दुःखी जनताको घर दैलोमा पुग्ने सरकार यतिबेला गगनचुम्बी भवनको बन्द कोठाभित्र विदेशबाट भित्र्याएका सोमरस चियर्स गरेर बसिरहेको सुन्नमा आउँछ ।

    कहाँ छ सरकार ? भन्ने बेलामा गाउँ–गाउँमा सिंहदरबार भन्ने तर सिंहदरबार भने तिनै तिघ्रे, चुल्ठे, कुन्डले, मुन्द्रेका लागि पुगेको जनताले आभाष गरिरहेका छन् । चार महिना बन्द हुँदा तिमिहरुको अवस्था के छ ? भनेर नसोध्ने सरकार, असार मसान्त भित्र कर नतिरे व्ल्याक लिष्टमा राख्छु भन्नु सरकारको गरजिम्बेवारीपना होइन र ?

    यो गर्नु कतै जनताको छातिमा टेकेर कन्चटमा बन्दुक तेर्स्र्याउनु होइन र ? यस्तो गम्भीर अवस्थामा पनि हुने खानेहरुले नै कुम्ल्याए । बिचरा हामी जनता । ठूलाबडाले जे भने पनि हवस भन्नु पर्ने ।

    प्रधानमन्त्रीज्यू कतै सरकार कोरोनाको बहानामा झनै संक्रमण बढाउने कार्य त गर्दै छैन । भदौ १ पछिको आउन सक्ने भयाबह स्थितिलाई कस्ले व्यहोर्दछ ? अब पनि चुप बस्ने हो भने नेपालको सडक÷सडकमा मान्छेको लास हुने अवस्था नहोला भन्न सकिन्न । खोल्दा स्वास्थ्यको समस्या, बन्द गर्दा आर्थिक समस्या । जनता नै नरहे अर्थको कुनै अर्थ रहन्न । त्यसैले पहिला स्वास्थ्य अनि इकोनोमी ।

    इटाली जस्तो देशमा त त्यो अवस्था आयो । अमेरिका जस्तो शक्ति सम्पन्न राष्ट्रको हालत हामीले नियालिरहेका छौं । यहाँ त भगवान भरोसा । प्रकृतिले हामीलाई पटक–पटक सिकाइरहेको हुन्छ । बैशाखको जस्तो तातो घाम पुष माघमा कहाँ पाइन्छ र ?

    प्रधानमन्त्रीज्यू पैसा उठाउने बेलामा अमेरिका र जर्मनको उदाहरण दिने गरेको पाइन्छ । तर, सेवा दिने बेलमा चाँही यो नेपाल हो भन्न मिल्छ र ? पहिला हेल्थ कि, इकोनोमी ? केही दिन अगाडीबाट सट डाउन शुरु भएको छ । सवारीका साधनहरुमा जोर बिजोर प्रर्णाली लागू गरिएको छ । जोर बिजोर गर्दा झनै संक्रमण बढ्ने खतरा हुन्छ ।

    मेरो व्यक्तिगत विचारमा सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गर्नुपर्छ । जोर बिजोर प्रर्णाली अवैज्ञानिक छ । किनभने कोरोना संक्रमित दिन दुइ गुणा, रात चौगुणा बढ्दो छ । सरकारी तथा प्राइभेट इन्स्टिच्यूसन बन्द गरिनुपर्दछ । बन्द नगर्दा आ–आफ्नो कार्यालय जान बाध्यात्मक हुन्छन् । १५ जना चढ्ने गाडीमा ३० जना चढ्न बाध्य हुन्छन् । सबैलाई कार्यालय जानै पर्ने हुन्छ । यदि कार्यालय नगएको खण्डमा कामबाट निकालिन्छ । त्यसैले जोर बिजोर प्रर्णाली लागू गर्नु आफैमा गलत छ ।

    त्यसपछि तलबको लागि नेपाल सरकारले उचित कदम चाल्नु पर्दछ । अत्यावश्यक बाहेक सबै प्रकारका सवारी साधनहरुलाई पूर्ण रुपमा बन्द गर्नुपर्छ । फ्रन्ट लाइनमा खटिएका सुरक्षाकर्मीलाई माक्स समेत पनि दिइएको पाँइदैन । नेपाली जनताको शान्ति सुरक्षाका लागि अहोरात्र खटिरहेका सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण बढ्दो क्रममा छ । सुरक्षाकर्मीलाई सुत्ने स्थानको पनि धेरै ठाँउमा अभाब भएको सुन्नमा आएको छ । त्यसतर्फ पनि सरकारले ध्यान दिन जरुरी छ ।

    अब सरकारले सेना परिचालन गरेर पूर्ण रुपमा लकडाउन गर्नुपर्दछ । अरु बिकल्पै छैन । यतिबेला बिचौलियाहरु सलबलाइरहेका छन् सरकारको उचित ध्यान जान जरुरी छ । हामी सँधै सफलताको पछि पछि दौड्यौं तर सक्षमताको पछाडी कहिल्यौ दौडेनौं । हामी शिक्षित त भयौं होला तर सचेत कहिल्यै भएनौं । शिक्षित हुनु र सचेत हुनु नितान्त फरक कुरा हो । कतै हामीले धान पेल्ने मिलमा ढुङ्गा त पेलिरहेका छैनौं ? पेल्न त पेल्छ मेसिनले तर मेसिनको आयू चाँडै सकिन्छ ।

    प्रधानमन्त्रीज्यू तपाइले भन्नुभएको जहाज चुर्लुम्मै डुब्न लागिसक्यो । कृषि मजदुरहरु पनि चरम समस्यामा छन् । कृषकले मलसम्म पाएका छैनन् । आफूले उत्पादन गरेका वस्तुहरु सहज रुपमा विक्री वितरण गर्न पाएका छैनन् । यतातर्फ पनि सरकारको ध्यान जान जरुरी छ । नेपाल कृषि प्रदान देश भएकाले अधिकांश मानिसहरु कृषि पेशामा निर्भर छन् । सरकार हरेक क्षेत्रमा चुकेको छ ।

    हाम्रो जीवन भनेको प्रश्नपत्र हो । यसले हामीलाई उत्तरपुस्तिका दिएको छ । उक्त उत्तरपुस्तिका भर्नलाई चार घण्टाको समय दिएको छ । चार घण्टाको समयभित्र हामीले उत्तर पुस्तिका भर्नुपर्दछ । पहिलो एक घण्टा बाल्यवस्था, दाश्रो एक घण्टा यूवा, तेश्रो एक घण्टा वयस्क र चौथो एक घण्टा वृद्धावस्था । त्यसैले कहिल्यै पनि फेल हुनु भएन ।

    प्रधानमन्त्रीज्यू तपाई जीवनको चौथो १ घण्टामा हुनुहुन्छ । त्यसैले फेल नहुने गरी प्रश्नपत्र भर्नुहोला । यो कलियुग हो । युग भनेको शरीर हो । जुन दिन शरीर सकिन्छ तपाई हाम्रो युग पनि सकिन्छ । समयले हामीलाई परीक्षा लिइरहेको छ । यतिबेला तपाइको हातमा प्रश्नपत्र छ त्यसैले प्रश्नपत्रमा समय सुहाँउँदो उत्तर भर्नुहोला नत्र फेल हुनुहुन्छ ।

    यतिबेला नेपालमा राममन्दिर होइन अस्पताल, आइसीयू, भेन्टिलेटर, औषधी र उचित प्रकारको राहतको खाँचो छ । जनता रोगले मात्र होइन भोकले मर्न थालिसकेको छन् । अझै एक पटक सम्झाउन चहन्छु । प्रधानमन्त्रीज्यू, आजको आबश्यकता राम मन्दिरको होइन अस्पतालको हो । आफू पनि बाँचौं । अरुलाई पनि बचाऔं । सेवा नै धर्म हो । (समाजसेवामा सक्रिय लेखक घिमिरे मन्थली नगरपालिका–४ सालु, रामेछापका स्थानीय हुन्)

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार