काठमाडौं । सोमबारदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको दुःखद निधन भएको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा बानियाँको शव भेटिएको हो ।
बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।
तर, उनी आइतबार बेलुका पत्रकार छायाँचन्द्र भण्डारी निवास नैकापमा बसेको खुलेको छ । बानियाँका परिवारले भण्डारीलाई राती घर पठाइदिन आग्रह गर्दा बानियाँ भने भण्डारीकै घरमा बसेको खुलेको हाे । बानियाँ पछिल्लो समय कान्तिपुर दैनिकले जिम्मेवार विहिन बनाएको भन्दै मानसिक तनावमा थिए ।
सोमबार विहान पत्रकार भण्डारीले बानियाँलाई बानेश्वसम्म पुर्याएको खुलेपनि बानियाँ त्यसपछि फर्किएर बल्खु गएको पत्ता लागेकाे छ ।
सोमबार करिब पौने चार बजे उनी राजधानीको बल्खुचोकमा देखापरेको प्रहरीले जानकारी दिएको छ ।
अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो ।
तर, सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएको प्रहरी स्रोतको भनाई छ । बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
Leave a Reply