Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मेसिनमार्फत सडकबाट मान्छे उठाउने प्रहरीले नै कोरोनालाई मजाक बनाए

    मेसिनमार्फत सडकबाट मान्छे उठाउने प्रहरीले नै कोरोनालाई मजाक बनाए

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 4K
    SHARES

    काठमाडौं । केही समयअघि  कोरोना भाइरस संक्रमणको जोखिम रोक्न सरकारले लागू गरेको लकडाउनको उल्लंघन गर्नेलाई मेसिनको सहयोगमा सडकमा हिंड्नेलाई प्रहरीले पक्राउ गरेका समाचारका तस्बिरहरु भाइरल बने।

    मानिसबाट मानिसमा तीव्रगतिमा सर्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले मेसिनको सहयोगमा लकडाउनको उल्लंघन गर्नेलाई पक्राउ  गरेको प्रचारबाजी गरिएको थियो। तर, अहिले त्यो शैली रोकिएको छ। त्यतिबेला काठमाडौंमा कोरोनाका एक्टिभ केस नहुँदा मेसिनले सडकमा मान्छे पक्राउ गरेर होल्ड गर्ने प्रहरीले अहिले काठमाडौंमा दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको बेला भने मान्छे भीडभाड गरेर तमासा देखाएको छ।



    सरकारले  कोरोना भाइरसको महामारी रोकथामका लागि  भीडभाड नगर्न निर्देशन दिँदै आएको छ।  २५ जना भन्दा बढीलाई भेला समेत हुन नदिन  नियम नै बसालिएको छ । तर,कोरोना रोकथामको नियम पालना गराउन खटिएका प्रहरीका हाकिमहरुले आज देखाएको तमासाले भने सरकारको नियमकै खिल्ली उडाएको छ। ।



    सर्वसाधरणलाई भेला तथा भोजभतेरमा रोक लगाउन फ्रन्टलाइन खटिने प्रहरीकै  हाकिमले  कोरोना महामारीबीच सरकारको निर्देशनलाई बेवास्ता गर्दै आफ्नो प्रचारका लागि भीडभाड जम्मा गरेर अभियुक्त सार्वजनिक गरेका छन् ।

    सर्बत्र चर्चामा रहेका अभियुक्तलाई सार्वजनिक गर्नु राम्रो पक्ष हो। तर, कोरोनाको कुनै प्रवाह नगरी ठूलै भीडभाड गरिएका कारण सामाजिक सन्जालमा प्रहरीको कामलाई मजाक बनाइएको छ।

    गोंगबुमा भएको  हत्याकाण्डका अभियुक्त कल्पना मुडभरीलाई सार्वजनिक गर्न काठमाडौं प्रहरी र महानगरीय  अपराध महाशाखाले संयुक्त रुपमा पत्रकार सम्मेलको आयोजना गरेका थिए । पत्रकार सम्मेलन अघि नै दुई एसएसपीले कल्पनाबारे समाचार चुहाइसकेका थिए।

    काठमाडौं परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाबीच आफु निकट पत्रकारहरुलाई बिहानैदेखी बाइट दिन हानथाप नै चलेको थियो।

    प्रहरीले ४८ घण्टासम्म गरेको अपरेशनको बयान सुनाउन आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोनाको कुनै प्रवाह नगरी ठूलै भीडभाड देखियो ।

    कोरोनाको यस्तो डरलाग्दो परिस्थितीमा काठमाडौं प्रहरीका प्रमुख  ज्ञवाली र अपराध महाशाखाका प्रमुख थापा भीडभाड गरेर पत्रकार सम्मेलनको नाममा प्रचारबाजी किन गर्नु परेको होला ?  यस्ता प्रश्न सामाजिक सञ्जालमा अरु कोही नभएर क्राइम बिटकै पत्रकारहरुले उठाउन थालेका छन्।

    पत्रकार टपेन्द्र कार्की लेख्छन, ‘ प्रहरीले गोंगबुमा भएको हत्याको सफल अनुसन्धान गरेको हो, यसलाई मुक्तकण्ठले प्रशंसा गरिन्छ । तर, काठमाडौमा कोरोना संक्रमणको कुनैपनि एक्टिभ केश नहुँदा प्रहरीले सन्नासो लगाएर सडकबाट मान्छे उठायो, त्यहाँ उसलाई कोरोनाको डर भो । आज गरिएको पत्रकार सम्मेलन हेरौ त त्यतिबेला प्रहरीले गरेको कामलाई यसरी गिज्याएको छ । ‘

    के प्रहरीले अन्य अभियुक्तलाई जस्तै डिजिटल इमेल वा सामाजिक सञ्जाल प्रयोग गरेर कल्पनालाई पनि सार्वजनिक गर्न सक्ने थिएन ?  तर, आफ्नो प्रचार गर्नकै लागि पत्रकार सम्मेलन आयोजना गरेको भन्दै दुई एसएसपीको आलोचना हुन थालेको छ ।

    ‘क्यामरा बोक्ने र प्रेस कार्ड भिर्ने देखेपछि कोरोना पनि तर्सेर भाग्छ रे हो, ? ’ सामाजिक सञ्जालमा एक पत्रकार लेख्छन् ।

    कुनै पनि घटनामा अभियुक्त पक्राउ गरेपछि प्रहरी नेतृत्व आफ्नो प्रचार गर्न लिप्त बनेका घटना यसअघि पनि सार्वजनिक भएका हुन् ।

    ८८ किलो सुन तस्करीका अभियुक्त पक्राउ गरेपछि तत्कालिन प्रहरी नेतृत्वबीच पत्रकार सम्मेलन गर्ने स्थानको विषयमा ठूलै लफडा भएको थियो । तर, यतिबेला मुलुक नै एउटा महामारीसँग लडिरहेको बेला प्रहरीको हाकिमहरुको प्रचार मोह भने अचम्मको देखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार