काठमाडाैँ । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो। महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको जानकारी दिए। साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक अरुलाई रोक लगाएको उनको भनाइ छ ।
विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको र पैदल यात्रीलाई समेत रोक लगाइएको प्रनाउ जोशीले बताए । उनका अनुसार साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकल बाहेकका सबै प्रकारका यातायातका साधनलाई प्रवेशमा रोक लगाइएको छ । पास भएका सवारी साधन पनि साँझ ७ बजेबाट प्रवेश गर्न पाउने छैनन् ।
ढुवानीका साधन भने राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने छन् तर ढुवानीका साधनमा पनि एक चालक र एक सहचालक बाहेक अरु व्यक्ति रहेको पाइए प्रवेशमा रोक लगाइने प्रनाउ जोशीले बताए ।
प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आह्वान गरेको छ । राति ९ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाइएको छ ।
केही दिनअघि नमूनाका रूपमा साँगा नाकाबाट उपत्यका प्रवेश गर्ने ६३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा १३ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको हो । लकडाउन खुलेपछि विभिन्न जिल्लाबाट उपत्यका प्रवेश गर्नेको भीडसँंगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये उपत्यका बाहिरबाट आउने ६३ प्रतिशत रहेको छ ।
Leave a Reply