काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दोहोर्याएका छन्।
प्रधानमन्त्री ओलीले अध्योध्याधामको मास्टर प्लान बनाउन माडी (चितवन) का जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।
माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँग शनिबार साँझ बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउन निर्देशन दिएका हुन ।
जनप्रतिनिधिहरुलाई प्रधानमन्त्री ओलीले विसं २०७८ सालको दशैंमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन निर्देशन दिएका थिए । शास्त्रीय मान्यतालाई नै आधार मानेर मन्दिर बनाउनुपर्ने प्रधानमन्त्रीको तर्क थियो।
प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्नसमेत सुझाब दिएका छन् ।
भेटमा जनप्रतिनिधिहरुले भने राष्ट्रिय निकुञ्जका समस्या र दुईहप्ता अघि जलेको चेपाङको घर र उनीहरुको बसोबासको समस्याबारे पनि गुनासो गरेका थिए । माडीका मेयर ठाकुरप्रसाद ढकालले पहिला राम मन्दिर बनाउँदा चेपाङहरुको घर बनेन भन्ने खबर जाने हुँदा चेपाङहरुको घर बनेपछि मात्र मन्दिर बनाउनु पर्ने सुझाब प्रधानमन्त्री ओलीलाई दिएका थिए। ।
प्रधानमन्त्री ओलीले यसबारेमा अध्ययन गरिरहेको वताएका थिए ।
Leave a Reply