काठमाडौं । फुटको संघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउने उद्देश्यले नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पठाए ।
बिहीवार बिहान अध्यक्ष ओलीको सन्देश लिएर नेम्वाङ प्रचण्डकै निवास खुमलटारमा पुगेका हुन्। यद्यपी नेम्वाङ प्रचण्डकै आग्रहमा खुमलटार पुगेको बताइएको छ ।
यता, नेम्वाङले भने पार्टी भित्रको आन्तरिक बिवाद बढदै गएपछि आफू खुमलटार पुगेको जानकारी गराएका छन् ।
प्रचण्डसँग के कुरा भयो भन्नेबारे नेम्वाङ खुल्न नचाहेका नेम्वाङले दुई अध्यक्षबीच कुरा मिल्नेमा आफू आशावादी रहेको उनले बताए। नेम्वाङले भने–‘एक एक विषयबस्तुमा भन्दा पनि समग्रमा पार्टी विवादबारे कुरा भएको हो। उहाँसँग कुरा गरेपछि म आशावादी छू ।’
दुई अध्यक्षबीचको संवादहीनता बढ्दै गएपछि फेरि पनि संवादका लागि आफूले भेटेको उनको भनाई थियो ।
प्रचण्डले नेम्वाङलाई पार्टी विभाजनको डिलमा रहेको भन्दै ओली लचिलो नहुने हो भने पार्टीको बहुमत पक्षले विधानअनुसार अघि बढ्नुपर्ने बताएको स्रोतले जनाएको छ ।
भेटमा अध्यक्ष प्रचण्डले नेम्वाङमार्फत ओलीलाई पार्टी एकता विरोधी काम रोक्न आग्रह गरेको बताइएको छ ।
नेम्वाङले भने महाधिवेशनसम्म दुई अध्यक्षको सहमतिबाट अघि बढ्नुको विकल्प नरहेको र त्यसो भन्दा दायाँबायाँ गरिए एकता भंग हुने र मुलुकनै संकटमा पर्ने बताएका छन् ।
नेकपाभित्र ओली–प्रचण्ड समूहले आ–आफ्ना समूहमा एकअर्का विरोधी गतिविधि तीब्र बनाएको छ ।
बुधवार प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले आफू निकट पत्रकारलाई बोलाएर बहुमतको निर्णय ओलीले मान्नुपर्ने र ओली एकलौटी रुपमा अगाडि बढ्दा पार्टी फुट्न मात्र बाँकी रहेको बताएका थिए ।
Leave a Reply