पौरख पछ्याउँदै नर्वेली टाकुरामा::Best Online News Portal of Nepal

पौरख पछ्याउँदै नर्वेली टाकुरामा

पौरख पछ्याउँदै नर्वेली टाकुरामा

टेक बहादुर गिरी
  • बिहिबार, साउन २२, २०७७

  • 3.5K
    SHARES

  • पौरख पछ्याउँदै नर्वेली टाकुरामा

    सिन्धुपाल्चोक थातथलो भएका एकजना जोसिला युवा नेपाली पत्रकार सरोज ढुंगाना होस्टेलबाट बिहानैदेखि तारन्तार फोन गर्छन् । कति बेला हिड्ने हो दाजु , हामी त बिहानैदेखि तयार छौं । सूदुर उत्तरी भूमिमा रहेको एउटा ध्रुबिय द्विप ट्रोम्सोबाट नर्वे कै उत्तर पश्चिमस्थित लोफोटन द्विप समुहस्थित मोस्केनेस टापुमा सामुन्द्रिक पहाड राइनेतिएनको चुचुरो पुगी छाड्ने हुटहुटि र उमङ्ग यात्रामा सहभागी १० जना मध्ये अधिकांशको रहेको छ ।

    समय, भिन्न परिवेश,मौसम र कामको बाध्यताले मानिसलाई ब्यस्त मात्र होइन दास बनाउँछ, नर्वेमा । बर्षका झन्डै ७ महिना अधिकांश चिसा दिनहरुले मानिसलाई बासस्थान र कार्यस्थलमा खुम्च्याउने गर्छ । चिसो आफैं कठ्यांग्रिएर थेच्चिनु बाध्य भए पछि जन जीवन अस्तव्यस्त हुने नै भयो ।

    चिसोको कठोर साम्राज्य पछि मध्य जून महिनामा अचनाक एउटा खुशीको न्यानो घामले हाम्रो तनमा उष्णता थप्यो । र फुरुङ बन्यो मन । रामबर्गको खुल्ला सामुन्द्रिक छालमा सर्फिंग ,बुनेस उपत्यकाको समुन्द्री तटको बालुवामा खर्किने, एकान्तमा सामुन्द्रिक चराहरुको राजधानी ‘रोस्ट द्विप’मा चरीको मधुर संगीत विभिधतामा रमाउने, लोफोटन स्थलमार्गको अन्तिम भू भाग ओको समुन्द्री तटमा बसेर खुल्ला समुन्द्रको दृश्यावलोकन गर्दै नेपाली पिकनिक गर्ने आदि भ्रमणको मेजर टास्क छन्।

    त्यसो त ४ दिने घमाइलो सोमरसमा साँझको सोमरसको ब्यबस्थापन गर्ने जिम्मा रसायन शास्त्रका जानकार अनुप न्यौपाने र नेपाली खबरदारी सरोजले नै लिएका छन् । नर्वेली सेनाको मुख्यालय रहेको बार्दोफोसको घना जंगल, एविनेसको राष्ट्रिय निकुञ्ज रहेको हरियो फाँट छिचोल्दै पहाडी नागबेली बाटो अघि बढी रहेका छौं ।

    झन्डै ३ सय किलोमिटर लामो बाटोमा पर्ने डेढ दर्जन जति लामो छोटो टनेल कतै भीमकाय पहाड भित्र थियो त कतै समुन्द्र र शहर मुनि थिए । यो देख्दा हामी अधिकांशको नेपाली मनमा लोभ पलायो । शायद विदेशमा पहिलो पटक यति लामो यात्रामा निस्किएकी कीर्तिपुर घर भएकी हँसिली मंजिलाले पट्यारलाग्दो स्वरमा सोधिन् अब कहिले पुगिन्छ ? जति हिँड्यो त्यति तन्किए जस्तो लाग्छ बाटो ।

    मान्छेले जीवनमा जिउने बाटाहरु खोजेजस्तै । जीवन पनि त सरल र सहज ढङ्ले पनि बिताउन सकिन्छ तर जीवनमा जति बहकिँदै गयो, यो उतिनै दुरुह र जटिल बन्दै जान्छ । मेरी सहयात्री जीवन संगिनी शारदाले प्याच्च बोली फर्काइन वरपर हेरेर रमाउनु नि जीवन र यात्रालाई कम्प्लिकेडेट किन बनाउनु ?

    लेखक

    स्तेइनल्याण्ड घाँटीमा रहेको कलात्मक स्येलसुन पुल तरेसँगै हामी मुख्य मार्ग इ १० पछ्याउदै बायाँ उकालोतिर मोडियौं । माथि डाँडामा उक्लिएर हामी रोकियौं र स्येल्सुन सामुन्द्रिक उपत्यकाको फोटो खिच्न लोभीयांै । हाम्रो ठेट गोर्खाली शैलीमा क्यामेराम्यान नागबेली बाटोमा गएर खिचिरहेको देखेर एक श्वेत चालकले धारे हात लगायो । केहीले भने गाडी १ नम्बर गियरमा गुडाउदै हाम्रो लर्कन अचम्मितसँग हेरिरहे ।

     

    बाटोमा पर्ने गौस्भिक ,कोंग्सभिका र फिसकेफ्योड हुँदै समुन्दी किनारै किनार हानियौं । बाटामा सुनसान देखिन्थे प्राय घरहरु । मानिस नबसेकाले घरका भित्तामा सिस्नो र अन्य झारले ढाकिएका छन् । लाग्यो, हाम्रै जस्तो रहेछ नि यहाँ प्रायः बृद्ध बृद्धाहरु मात्रै छन् गाउँमा । नर्वेली धर्तीका अनुभूतिमा नेपाली अन्तष्करणका आँधीबेहरी उतार्न थाल्यौं ।

    बुझ्दै जाँदा फरक यति रहेछ हामी आफ्नो घर आँगनभन्दा धेरै पृथ्बीका कुना काप्चा, अर्कै आकाश र बाटोघाटो छिचोलिरहेका छौं । हामी कमाउन परदेशमा र यहाँका युवायुवती रमाउन परवासमा शहर पसेकाले खासै चहलपहल छैन यी नर्वेली पहाडी गाउँ बस्तिहरुमा । यस्तै तुलनात्मक कल्पनामा डुब्दै आफ्नै लबजमा हीन ओइया द्विपको जीवन पढीरहेका छौं हामी ।

    अहा क्या राम्रो पहाड ! पछाडिको सिटमा बसेकी सहयात्री बिनिताको हर्षित आवाज आयो । अब हामी भेस्तेरोलन द्विप समूहमा पर्ने सामुन्द्रिक पहाडहरु देख्न थालेका थियौं । समुन्द्रको गहिराइबाट सिधै आकास चुम्न उठे जस्ता कलात्मक सग्ला पहाडहरु मनमोहक मात्र थिएनन् घमाइलो दिनमा ति पहाडका छायाँ हरियो पानीमा पर्दा देखिने तस्बिरले जो कोहीलाई पनि लोभ्याउँथ्यो । सेताम्मे हिउँको बिस्कुन सुकाइरहेका हिउँचुलीहरू नजिकै देखिन्छन् ।

    हृदयहारी ठाउँ हो यो लोफोटनको केन्द्र सोलभार शहर । ख्याल आनन्द आउँदैन क्षीतिजसम्म देखिने समुन्द्र, बारेन्ट महासागरको चिसो पानी उधिन्दै गजधम्म उभिएका हरियो बस्त्रमा हीउँका सेता फेटा गुथे जस्ता सेताम्मे पहाड र रंगिन वेँसीका दृश्यहरूमा आँखा ओछ्याउँदा ।

    निलो गगनमा चम्किएका ताराजस्ता नर्वेजियन समुन्द्रमा २४ सै घन्टे ध्रुबिय घामको किरणले ज्वजाल्य २४ हजार साना ठुला यहाँस्थित द्विपहरु । ग्रिष्म कालमा पनि निख्री नसकेको अग्ला पर्बतका सेताम्मे हिउँमा यति बेलाको २४ घण्टा नै क्षीतिजमा रहने घामको सुनौलो किरणले कसको मन हर्दैन र ? यतिबेला कुहिरोको पर्दा टाँगिदै थियो, डाँडामाथि नाटक घरको हाफ टाइम भए जस्तो ।

    आँखाले कुहिरोको एउटा फग्लेटा पन्छाएर सहयात्री फोटा शिल्पी बिक्रम नेपाल भाइले समुन्द्री पर्बत शैलीका सग्ला तस्बीर कैद गर्न खोज्दा खोज्दै खसिकेको थियो घमाइलो आर्कटिक गोधुली । थाँक्रामा झुन्डिरहेका काँक्राका एकनासे कैँडाहरू जस्ता तुर्लुङ्ग सुकाएका माछाका ठुला ठुला मच्याङ्ग पार गर्दै ‘राइने सोन’ स्थित बासस्थान पुग्दा मध्यरातको शिशु घामले चियाई रहेको थियो ।

    भोलिपल्ट लोफाेटनको दक्षिणी भागस्थित अर्को ठूलो शहर लेक्नेस र वाइकिङ्ग म्युजियमको यात्रा गरियो । लेक्नेसको एक क्याफेमा भेटिएका एक हुल फिनिस र डेनिस पर्यटक आफ्ना पूर्वज वाइकिङ्गको उत्पति थलो घुम्न आएका रहेछन । उनीहरु एक आपस कुरा गर्दा भाइकिङ्गप्रति गौरव र सम्मान भाव देखाउथे ।

    मलाई पनि गर्व बोध भयो, हामी पनि नेपाली शेर्पा हरुले बनाएको चप्लेटी ढुंगे बाटो उक्लिँदै ‘राइने तिन्दन’ सामुन्दी टाकुराको चुचुरो पुग्छौं, भोली । शताब्दियौं देखिको स्थानीय असफल प्रयासहरुलाई नेपाली शेर्पाहरुले आफ्नो साहस, ताकत , लगनशीलता र पसिना सिञ्चन गरेर नर्वेको बिकट पहाडहरुमा ढुंगे गोरेटा बाटाहरु निर्माण गरेका छन् ।

    भोलिपल्ट हाम्रो टोली तिनै शेर्पाहरुले ढुङ्गे अक्कर खोपेर, चप्लेटी ढुंगाको फग्लेटाले बनाएका साँघुरो भीरको बाटो उक्लिँदै राइने चुचुरोमा पुग्यो । स्थानीय एक जनप्रतिनिधि महिलाले ‘कोरोना महामारीका कारण नेपाली शेर्पाहरु आउन नपाउदा राइने पहाडका बाँकी काम अलपत्र’ शिर्षक समाचार मोबाइलमा देखाउदै निरासा पोखिन । चट्टानी सडक शिल्पी शेर्पाहरुलाई सम्झिएर हामी पनि तन्मय भयौं ।

    पृथ्वीका सबै भन्दा अग्लो चुचुरोका फेदीका कर्मशील शेर्पाहरुले शेर्पा त्राप्पामा नेपाली परम्परागत शिल्प मात्र होइन, नेपाली संस्कृति, जीवन ,मनस्थिति र प्रकृतिका नदेखिने मिहिन भावलाई कपेर लेखी छाडेका थिए ।

    दुनियामा शायद नै यस्तो स्थान होला जहाँ एकै स्थान र समयमा हिउँको स्किंग, समुन्द्री छालमा सर्फिंग गर्न सकियोस, व्हेल सफारी दृश्यावलोकन र ह्वेल माछाको स्वाद लिन सकियोस । समुन्द्रमाथि गजधम्म उभिएको पहाड़को चुचुरो टेक्न सकियोस र कहिल्यै नडुब्ने उत्तरी ध्रुबिय घामको किरणमा समुद्र तटको बालुवाको न्यानोमा स्वर्गीय आनन्द लिन सकियोस ।

    यात्राको चौथो दिन भने बुन्नेस समुन्द्री तटमा अल्प बस्त्रमा बालुवाको तातोमा बनभोज गर्ने हाम्रो योजना अधुरै रह्यो । शायद हामीले समयको मूल्य चिन्न सकेनौं । समयमा नपुग्ने, अर्कालाई पर्खाउने, काममा ढिलो पुग्ने जस्ता समय अनुशासनहिनताको सजाय हामीले बेहोर्यौं । हतारिएर पुगेका हामीलाई समुन्द्री तट वारि पट्टि रहेका पानीजहाजका क्याप्टेनले भने – आज जहाज भर्खरै भरियो, भोलि समयमै आउनु होला ।

    परसम्मको लाक्पा दोर्जे हिमाल, हेलम्बु तथा मानेखर्क र भोटाङसम्मका दृश्य नियालेका सिन्धुपाल्चोक मेलम्चीका सरोज र नेपाली संस्कार कि भुटानी बैनी अनिमाले समुन्द्र किनारमा उभिएर छुटेको पानीजहाजलाइ मर्म र मोहकताका साथ निकै परसम्म हेरी रहे । मेरो खिन्नता भरिएको मनमा अघि भर्खरै हामीलाई पानीजहाजसम्म ल्याएर छाड्ने एक मनकारी नर्वेली महिलाले भनेको कुराले गिज्याइरह्यो – तिमी नेपालीहरु कति खुशी देखिन्छौ । हाम्रो देश सुखी छ ,तर मानिस धेरै खुशी छैनौं ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार