Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • मलेसियाका पूर्व प्रधानमन्त्री नजिब भ्रष्टाचार मुद्दामा दोषी ठहर

    मलेसियाका पूर्व प्रधानमन्त्री नजिब भ्रष्टाचार मुद्दामा दोषी ठहर

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 1.6K
    SHARES

    क्वालालम्पुर। मलेसियाको एक अदालतले पूर्व प्रधानमन्त्री नजिब रजाकमाथिको अर्बौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

    नजिबमाथि मलेसियाको वान–मलेसिया डेभलपमेन्ट बरहाड (वान–एमडीबी) नामको परियोजनामा अर्बौं भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ । अदालतको उक्त फैसलासँगै नजिबले वर्षौं जेलमा बिताउनु पर्नेछ ।



    मलेसियाको यस लगानी परियोजनाबाट भएका रियल स्टेटदेखि बहुमूल्य कलासामग्रीको खरिदमा अर्बौं डलर घोटाला भएको अदालतले ठहर गरेको छ । उक्त भ्रष्टाचारकाण्ड सार्वजनिक भएसँगै नजिबको सत्तारुढ पार्टी सन् २०१८ को आमचुनावमा पराजित भएको थियो ।

    चुनावमा सत्तारुढ दल पराजित भएसँगै त्यसका दर्जनौं नेता गिरफ्तारीमा परेका थिए ।

    नजिबमाथिको पछिल्लो फैसलाले मलेसियाको कानुनी शासनको परीक्षण पनि गरेको छ । तर मलेसियाको राजनीतिक वृत्तमा अस्थिरता आएसँगै अहिले नजिबको पार्टी पुनः गठबन्धन सरकारमा सामेल भएको छ ।

    नजिबले वान–एमडीबीसँग सम्बन्धित धेरैवटा मुद्दा खेपिसक्नु भएको छ । तीमध्ये एउटा मुद्दा करिब १६ महिनाअघि शुरु भएको थियो । यो मुद्दा मुख्यरुपमा करिब ९९ लाख अमेरिकी डलर वान–एमडीबीबाट नजिबको व्यक्तिगत बैंक खातामा जम्मा भएको विषयसँग सम्बन्धित छ ।

    तर ६७ वर्षीय नजिबले आफूले कुनै गलत नगरेको लगातार दाबी गर्दै आएका छन् ।

    तर न्यायाधीश मोहमद नजलान मोहमद घजालीले नजिबका वकीलले प्रस्तुत गरेका सबै तर्कलाई खारेज गर्दै नजिबमाथि सातवटा अभियोगमा दोषी ठहर गरिएको फैसला गरेका हुन् ।

    क्वालालम्पुर उच्च अदालतका न्यायाधीश घजालीले अदालतको फैसला सुनाउँदै भने, “निचोडमा, यस मुद्दासँग जोडिएका सबै प्रमाणहरुमाथि विचार गर्दा मुद्दाका प्रतिवादी नजिब दोषी छन् ।”

    अदालतमा फैसला सुनाउँदा नजिब शान्त देखिएका थिए । अदालतबाहिर भेला भएका सयौं क्रुद्ध समर्थकहरुले नजिबमाथि अन्याय भएको भन्दै नाराबाजी गरेका थिए ।

    नजिबमाथि लागेका सातवटा आरोपहरुमा एउटा शक्तिको दुरुपयोग, तीनवटा विश्वासघातसँग सम्बन्धित फौजदारी अभियोग तथा तीनवटा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित थिए ।

    शक्तिको दुरुपयोग तथा विश्वासघातसँग सम्बन्धित फौजदारी अभियोगका लागि नजिबमाथि प्रत्येक मुद्दामा २० वर्षसम्मको जेल सजाय हुन सक्दछ भने सम्पत्ति शुद्धीकरण अभियोगका प्रत्येक मुद्दामा १५ वर्षसम्मको कैद सजाय हुन सक्दछ ।

    तर जेल सजाय तोक्ने निर्णय अदालतले कहिले गर्नेछ भन्ने स्पष्ट भइसकेको छैन । नजिबले सर्वोच्च अदालतसमक्ष पुनरावेदन गर्ने भएकाले तत्कालै जेल पठाउने सम्भावना कम रहेको बताइन्छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार