काठमाडाैँ । कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गर्न थालेका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै आजदेखि गाउँपालिका र वडा कार्यालयबाट पर्वाह हुने सेवाहरु बन्द गरिएको बताइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गर्दै अति आवश्यक स्वास्थ्य सेवाबाहेकका अन्य सेवा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिए।
विज्ञप्तिमा हाटबजार नलगाउन, गोष्ठी–सेमिनार आयोजना नगर्न, भिडभाड नगर्न, पसल, व्यापार, व्यवसाय नगर्न, सरकारी, गैरसरकारी र वित्तीय संस्थाहरु सञ्चालन नगर्न नगराउन आग्रह गरिएको छ । यस्तै सर्वसाधारणलाई पनि अनावश्यक रुपमा घर बाहिर ननिस्किन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । अत्यावश्यक कामका लागि निस्किनु परेमा मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न पनि अनुरोध गरिएको छ ।
कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै राजगढ गाउँपालिकाले पनि आजबाट अनिश्चितकालका लागि सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले एक सूचना प्रकाशित गरी अर्को सूचना नआउञ्जेल गाउँपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहने जानकारी गराए ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना सङ्क्रमण समुदायमा फैलिने सम्भावनालाई ध्यानमा राखेर उच्च जोखिम न्यूनीकरणका लागि गाउँपालिका र वडा कार्यालय समेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको सूचनामा उल्लेख छ । राजविराज नगरपालिकाले भने एक साताअघि नै मङ्गलबार लकडाउन कडा गर्ने निर्णय गरेको थियो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन चार महिनापछि अन्त्य भएकै दिन राजविराज नगरपालिकाले समुदायमा कोरोना फैलिएकाले लकडाउन कडा गर्ने निर्णय ग¥यो ।
राजविराज नगरपालिका–६ स्थित घरमै कोशी ग्यास र खाद्य बीज भण्डारको पसल रहेका ७३ वर्षीय कोरोना सङ्क्रमित व्यापारीको मृत्यु भएपछि ’कन्याक्ट ट्र्याकिङ्ग र ट्रेसिङ्ग’ गर्दै जाँदा परिवारका सबै सदस्य, कामदार, छिमेकी, मित्र र उहाँहरुको परिवारमा कोरोना पुष्टि भएपछि राजविराज नगरपालिकाले लकडाउन पूर्ण पालना गर्ने गराउने निर्णय गरेको हो ।
ट्र्याकिङ्ग र ट्रेसिङ्गका आधारमा सम्भावित व्यक्तिको पिसीआर परीक्षण गर्दै जाँदा सङ्क्रमित हुनेको सङ्ख्यामा निकै वृद्धि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । हाल सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या ४६२ पुगेको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । भारतसँग सीमा जोडिएको र अन्य छिमेकी जिल्लाहरुबाट पनि मानिसहरुको ओहोरदोहोर भइरहेकाले जिल्लामा सङ्क्रमणको जोखिम अझ बढ्नसक्ने देखिन्छ ।
Leave a Reply