Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • देशभर नै बाढी पहिरो : धादिङमा एकै घरका ३ जनासहित ४ जनाको मृत्यु

    देशभर नै बाढी पहिरो : धादिङमा एकै घरका ३ जनासहित ४ जनाको मृत्यु

    सप्तकोशीमा यो बर्षकै सबैभन्दा बढि बहाव

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 5.1K
    SHARES

    काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षाका कारण देशभर बाढी र पहिरोको जोखिम बढेको छ । पहिरोका कारण ठाउँ–ठाउँमा सडक अवरुद्ध भएका छन भने नदिको बहाब बढेर कयौं घर डुबानमा परेका छन् ।

    धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ गुल्जुङमा पहिरोमा परेर एकै घरका ३ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि सोमबार राति आएको पहिरोले घर पुर्दा २८ वर्षीय मिलन खाण, उनकी २६ वर्षीया श्रीमती सम्झना खाण र २ वर्षीया अन्जिता खाणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए ।



    कन्काईको बाढीले बाँध फुटाउँदा १०५ घर डुबानमा
    लगातारको वर्षापछि कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिकास्थित जनताको तटबन्ध भत्काएको छ । तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गाउँपालिकाको दुई वटा बस्ती डुबानमा पारेको छ ।



    गाउँपालिकाको वडा नम्बर १ स्थित मिलनबस्तीका ८३ घर र २ नम्बर वडास्थित सडकबारीका २२ घर डुबानमा परेका हुन् । सोमबार दिउँसोदेखि डुबानमा परेका १०५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । मिलनबस्तीका ८३ परिवारलाई स्थानीय सितुमारी प्राथिमा तथा सडकबारीका २२ परिवारलाई स्थानीय लक्ष्मी प्राविमा राखिएको थियो ।

    कोसी ब्यारेजका ४८ वटा ढोका खोलियो
    सप्तकोसी नदीमा मंगलबार बिहानबाट बाढी उर्लिएर पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ ।

    मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

    कोसी ब्यारेज भएर भइरहेको यो बहाव यो वर्षको सबैभन्दा बढी हो । मंगलबार बिहानको बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

    सप्तकोसीमा बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् भने मध्यकोसीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ ।

    पृथ्वी राजमार्गमा जताततै पहिरो
    वर्षाले पृथ्वी राजमार्गका विभिन्न भागमा पहिरो जाँदा आवागमन ठप्प भएको छ । चितवन सिमानामा रहेको खहरे मौवा खोलाले मुख्य राजमार्गको पुल जोड्ने सडकको केही भाग बगाउँदा आवागमन रोकिएको हो ।

    उक्त पुल भत्केपछि काठमाडौंतर्फ जाने सयौं सवारीसाधन मुग्लिङ फर्केका छन् । बेनीघाटको जोगीमारा हुग्दी खोलादेखि मौवा खोलासम्म ९ स्थानमा पहिरो खसेको छ भने विभिन्न स्थानमा ठूला चट्टानहरू सडकमा खसेका छन् ।

    गजुरी–२ माझडाँडामा बाढीले ५ घर बगाएको छ । घटनामा १७ वर्षीया निरुता परियारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    त्यसैगरी नारायणगढ–मुग्लिङ सडकअन्तर्गत चारकिलोस्थित कालीखोलामा सोमबार बिहान खसेको पहिरोले यातायात ठप्प भएको छ ।

    पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन्।

    सिद्धार्थ राजमार्गमा पनि पहिरो
    सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुललगायत दर्जनौं स्थानमा पहिरो खसेको छ ।

    तानसेनदेखि गुल्मीका साथै पाल्पाबाट स्याङ्जा, रामपुर हुँदै नवलपरासी जाने सडकमा पनि पहिरो खसेको छ । तानसेनबाट रानीमहल जाने सडकका साथै रम्भा, माथागढी, रैनादेवी छहरा, निस्दी, पूर्वखोला गाउँपालिका केन्द्र जाने सडकमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

    सिद्धार्थ राजमार्गको दोभान बजार नजिक कम्तीमा ६ घर जोखिममा परेको छ ।

    सडक, पुल र मन्दिर बग्यो
    निरन्तरको वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ ।

    अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल पुरेको हो । अन्नपूर्ण–३ काभ्रेको भजेनीखोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको म्याग्दी प्रहरीले जनाएको छ ।

    बेनी–जोमसोम सडकअन्तर्गत घाँसखोलामा आएको बाढीले निर्माणाधीन मोटरेबल पुल पनि पुरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । बाढीले घोप्टेभिर, घाँसाखोला, भुरुङ–तातोपानी र रुप्से झरना आसपासका क्षेत्रमा सडक बगाएको छ ।

    देशभर बाढि र पहिरोका कारण यो वर्ष ३० लाख मानिस बाढीपहिरोजन्य विपत्तिबाट प्रभावित हुने प्रक्षेपण सरकारकै अनुसन्धानले देखाएको छ।

    बाढीपहिरो सुरु हुनुअगावै गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संयुक्त राष्ट्रसंघले गरेको अध्ययनले यो वर्ष विगतका तुलनामा क्षति बढ्ने देखाएको थियो।

    तर, ठूलो क्षति हुने आफ्नै अध्ययनले देखाउँदा पनि सरकारले क्षति कम गर्न गरेको प्रयास निकै कमजोर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार