Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • किर्ते कागजातबाट ९ लाख ७० हजारको चेक

    किर्ते कागजातबाट ९ लाख ७० हजारको चेक

    अनलाइन नेपाल
  • शनिबार, ३ साउन २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    धनुषा। महोत्तरीको गौशाला नगरपालिकामा किर्ते कागजातमार्फत ९ लाख ७० हजार रुपैयाँ भुक्तानीको विवाद बाहिरिएको छ । नगर कर्मचारीले किर्ते उपभोक्ता समितिका नाममा टिप्पणी आदेशसहितका कागजात बनाएर चेक लिएको खुलेको हो । किर्ते नापी किताब, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको निवेदन, सार्वजनिक परीक्षण, प्रमाणित बिल, हाजिरीलगायत किर्ते कागजात बुझाई चेक भुक्तानी गरिएको थियो ।

    योजना शाखा प्रमुख तिलकबहादुर जिम्बा, प्राविधिक शाखाका इन्जिनियर प्रवीण सिंह र नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाको हस्ताक्षर रहेको भुक्तानी टिप्पणी आदेशमा कामै नभएको नाला निर्माण उपभोक्ता समिति गौशाला–६ को नाममा चेक काटिएको थियो । पानी निकासका लागि ह्युमपाइप खरिद र निर्माण योजनाका लागि भन्दै तयार पारिएको फर्जी कागजातका आधारमा उपभोक्ता समितिलाई लेखा शाखाबाट सोमबार चेक दिइएको हो ।



    कामविशेषले लेखा शाखा पुग्दा टेबलमा राखेको नाला निर्माण उपभोक्ता समितिको कागजातमा आफ्नो किर्ते हस्ताक्षर देखेपछि सोधखोज गर्दा फर्जी कागजात बनाएर चेक बुझेको पाइएको इन्जिनियर सिंहले बताए । ‘अनुगमन भत्ता लिन लेखाफाँटमा जाँदा किर्ते हस्ताक्षर भएको फाइल देखेपछि शंका लाग्यो,’ उनले भने, ‘खोजी गर्दा किर्ते कागजात बनाएको खुल्यो ।’ रहस्य खुलेपछि चेक भुक्तानी रोक्का गरिएको थियो ।



    ९ लाख ७० हजार रुपैयाँको सो चेक नगरपालिका कार्यालयमै फालिएको अवस्थामा फेला परेको सूचना अधिकृत रञ्जित बर्माले बताए । योजना शाखा, लेखा शाखा र कार्यालय प्रमुखबाट योजनाको कागजात तयार भएकाले नगरपालिकाकै कर्मचारी किर्ते कार्यमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको बर्माले बताए ।

    कार्यालयमा २५ वटा सीसीटीभी क्यामेरा जडान भए पनि चेक बुझेको र फालेको समयको रेकर्डिङ डिलिट गरिएको छ । कर्मचारी स्रोतका अनुसार योजना शाखामा कार्यरत कर्मचारीले किर्ते कागजात तयार गरी प्रशासकीय अधिकृत थापालाई प्रलोभनमा पारेर १० लाखको योजनामा ३ प्रतिशत रकम कट्टा गरी ९ लाख ७० हजार रुपैयाँ भुक्तानीका लागि टिप्पणी आदेश दिइएको थियो । तर, प्रशासकीय अधिकृत थापाले किर्ते कागजात पेस गरी लिएको चेकबारे आफूलाई जानकारी नभएको बताए । नगरपालिकाबाट चेक लिए पनि भुक्तानी हुने सम्बन्धित योजनाको बैंकमा खाता खोलिएको थिएन । खाता खोल्न नगरपालिकाबाट सिफारिससहितको कागजात बन्ने क्रममै किर्ते योजनाको रहस्य सार्वजनिक भएको हो । ‘किर्ते कागजातका साथै कार्यालयमै चेक फेला परेको विषयमा अनुसन्धान सुरु भइसकेको छ,’ मेयर शिवनाथ महतोले भने । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार