काठमाडौं । विहान ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही घण्टाका लागि स्थगित भएको छ ।
अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगे पनि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलका लागि समय नपुगेको बतापछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।
आज पनि अध्यक्षद्वय ओली र दाहालबीच छलफल हुँदैछ । नेकपाभित्रको विवाद स्थायी कमिटीबाट समाधान हुन नसकेपछि ओली इतर समूह केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा पुगेको छ ।
बिहीबार ओली, प्रचण्ड र माधव नेपाल पक्षबीच बालुवाटारमा छलफल भइसकेपछि दुवै पक्षका नेताहरु अलग–अलग छलफलमा जुटेका थिए ।
प्रचण्ड–नेपाल पक्षको खुमलटारमा भएको भेलाले केन्द्रीय कमिटी बोलाउने निष्कर्ष निकालेको थियो ।
प्रचण्ड–नेपाल पक्ष ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने अडामा छन् भने ओली निकट नेताहरुले प्रचण्ड–नेपाल पक्षको कडा प्रतिवाद गर्ने तथा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने बरु हरेक परिस्थितिको सामना गर्ने निर्णय गरेका छन् ।
नेकपा स्थायी कमिटीमा प्रचण्ड, नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितका नेताहरुले ओलीको कार्यशैली ठीक नभएको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेका छन् । यससँगै नेकपामा विवाद चर्किएको छ ।
Leave a Reply