Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ओली–प्रचण्ड बस्दै उठ्दै, कहिले हाेला विवादकाे अन्त्य?

    ओली–प्रचण्ड बस्दै उठ्दै, कहिले हाेला विवादकाे अन्त्य?

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 2K
    SHARES

    काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको पाँचौंपटकको वार्तामा पनि सहमति जुट्न सकेन ।

    मंगलवार भएको वार्ता सहमति नजिक रहेकाले बुधबार सहमति हुने बताइए पनि दुवै अध्यक्षको अडानका कारण ठोस सहमति जुट्न नसकेको हो । दुवै जना आ–आफ्नै अडानका कारण वार्तामा बस्दै सहमति नगरी उठ्ने गरेका छन् ।



    बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच तीन घण्टा वार्ता भए पनि दुवै आ–आफ्नै अडानमा बसेपछि सहमति जुट्न नसकेको हो । राजीनामा दिनुपर्ने अडानबाट पछि हटेका प्रचण्डले आफूले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाउनुपर्ने अडान राखेका छन् भने ओलीले प्रधानमन्त्रीसँग पार्टी अध्यक्षको भूमिकामा पनि रहने अडान राख्दा सहमति जुट्न सकेको छैन ।



    प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री नछोड्ने हो भने पार्टी अध्यक्षको सम्पूर्ण अधिकार प्रचण्डलाई दिनुपर्ने अडानमा रहेका छन् । तर ओली पक्षले भने पार्टी प्रचण्ड–नेपालले कब्जा गर्ने खतरा रहने भएकाले अध्यक्षमा रहिरहनुपर्ने अडान राखेपछि सहमति हुन नसकेको बताइएको छ ।

    प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले तीन घण्टा छलफल भए पनि ठोस सहमति जुट्न नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘छलफल सकारात्मक ढंगले अगाडि बढे पनि बुँदागत रुपमा अझै पनि सहमतिको खाका तयार भइसकेको छैन, भोलि पनि दुई अध्यक्षबीच छलफल हुन्छ ।’

    दुई अध्यक्षबीच पाँचौंपटकसम्म वार्ता गर्दा पनि सहमति जुट्न नसकेपछि नेकपाका दोस्रो पुस्ताका नेताहरु पुनः सहमति कायम गर्न दबाब दिन छलफलमा जुटेका छन् ।

    नेकपाका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मणि थापालगायतका नेताहरुबीच छलफल भएको छ । पार्टी विभाजनको संकट टरे पनि पार्टीभित्रको विवादको निकास अझै निस्किन सकेको छैन ।

    प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने दबाब बढेपछि शुरु भएको नेकपाको विवादको कारण स्थानीय समितिको बैठकसमेत प्रभावित बनेको छ । नेपाल समाचार पत्र

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार