काठमाडौं । कोरोना भाइरस महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाएका छन् ।
जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य रहेको बताउँदै आए पनि ट्रम्पले त्यसको पालना गरेका थिएनन् । तर शनिवार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका हुन् ।
उनले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक नेता जो विडेनले मुखौटो लगाएर हिँडेको भनेर मजाकसमेत उडाएका थिए । तर शनिबार ह्वाइटहाउसबाट बाहिरिने क्रममा उनले मास्क लगाउनु राम्रो कुरा भएको बताए ।
यसअघि ट्रम्पले सार्वजनिक रुपमा अरुले देख्ने गरी, विशेष गरी पत्रकारहरुले देख्ने गरी मास्क नलगाउने बताएका थिए । तर शनिबार उनी कालो मास्कमा देखिएका थिए । अस्पतालमा उनले सैनिकहरुसँग भेटघाट गरेका थिए ।
अहिले अमेरिका कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित देश बनेको छ । यसो हुनुमा महामारी नियन्त्रणमा ट्रम्पको बेवास्तालाई पनि कारण मानिएको छ ।
Leave a Reply