एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरिदिएको छ । पाकिस्तान सरकारले यसअघि राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउन १० करोड रकम विनियोजन गरेको थियो । तर, पाकिस्तानी मुस्लिम लिग (पीएमएल-क्यू) ले राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको थियो ।
इस्लामावादमा हिन्दु मन्दिर बनाउनु इस्लामको आत्मसम्मानमा चोट लाग्ने र रियासत-आई-मदिनाको अपमान भएको जनाएको थियो । यस विषयलाई लिएर काउन्सिल अफ इस्लामिक आइडियोलोजीले उच्च अदालतमा मुद्दा हालेको थियो ।
इस्लामावाद उच्च अदालतले मंगलबार उक्त मुद्दा खारेज गरेको हो । इस्लामावादमा ०.२ हेक्टरको जमिनमा हिन्दु मन्दिर बनाउने र दाहसंस्कारका लागि घाट बनाउने योजना बनाइएको थियो।
उच्च अदालतले मुद्दा खारेज गरे पनि सरकारी अधिकारीहरुले भने मन्दिरको निर्माण कार्य अघि बढाउने विषय निश्चित भइ नसकेको बताएका छन् । यसका लागि काउन्सिल अफ इस्लामिक आइडिओलोजी, सरकारको प्रतिनिधि र धार्मिक नेतासँग बसेर थप छलफल गरिने जनाइएको छ । सरकारले सबैसँग छलफल गरिसकेपछि निर्णय गर्ने बताइएको छ ।
पीएमएल-क्यूले अल्संख्यकको अधिकारको सम्मान गर्नेसमेत जनाएको छ । इस्लामावादमा करिब तीन हजार हिन्दु समुदाय रहेको छ । उक्त मन्दिर इस्लामावादको हिन्दु पञ्चायतले बनाउने र उक्त मन्दिर श्रीकृष्णको हुने जनाइएको थियो ।
Leave a Reply